निजी क्षेत्रमाथि आक्रमण उचित होइन : अर्थमन्त्री खनाल
Author
NEPSE TRADING

काठमाडौं — अर्थमन्त्री रामेश्वर खनालले देशको आर्थिक विकासमा निजी क्षेत्रको भूमिकालाई महत्वपूर्ण बताउँदै निजी क्षेत्रमाथि भइरहेको आक्रमण अनुचित भएको टिप्पणी गरेका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारण सभामा बोल्दै उनले निजी क्षेत्रलाई कमजोर बनाउने प्रयासले अर्थतन्त्रलाई नै हानी पुर्याउने चेतावनी दिए।
उनले भने, “निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो। निजी क्षेत्रले निश्चित समयपछि छोड्ने नै हो। उनीहरूमाथिको आक्रमण ठीक होइन। निजी क्षेत्रको संरक्षणका लागि सबैले जोड दिनुपर्छ।”
अर्थमन्त्री खनालले प्रक्रियामा त्रुटि भए सुधार गर्न सकिने तर सही व्यक्तिमाथि गलत कदम चालिएमा देशको लगानी वातावरण कमजोर बन्ने चेतावनी दिए। अपराध गर्ने कसैलाई सरकारले छोड्ने नसोचे पनि, त्यसका लागि सडक, सामाजिक सञ्जाल वा सञ्चार माध्यममा जथाभावी टिप्पणी गर्नु अनुचित हुने उनको भनाइ थियो।
जेनजी आन्दोलन केवल आर्थिक समृद्धिका लागि मात्र नभई भ्रष्टाचार अन्त्य, पारदर्शी सेवा प्रवाह र राज्यका शक्तिशाली व्यक्तिबाट हुने दुरुपयोग रोकिनुपर्ने मागसहित शुरु भएको उनले बताए।
उनका अनुसार आन्दोलनले निरन्तर उठाइरहेको मागहरूलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता छ।
आगामी निर्वाचनका बारेमा बोल्दै अर्थमन्त्री खनालले कुनै पनि हालतमा निर्वाचन सार्नु नहुने स्पष्ट गरे।
उनले भने, “निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चित दिशामा धकेल्नु हो। यसले अर्थतन्त्रदेखि कूटनीति, प्रवाह प्रणाली सबै क्षेत्रमा नकारात्मक असर पार्छ। त्यसैले कुनै पनि हालतमा निर्वाचन समयमै हुनैपर्छ।”
उनले सबै राजनीतिक दल र नागरिकको सहमतिमा सुरक्षित, भयरहित तथा निष्पक्ष निर्वाचन गरिने बताए। अन्तर्राष्ट्रिय जगतसमक्ष पनि लोकतान्त्रिक अभ्यासमा दृढ राष्ट्रको छवि प्रस्तुत गर्नुपर्ने उनले जोड दिए।
अन्तर्राष्ट्रिय जगतले नेपालबारे राम्रो मूल्यांकन गरिरहेकाले त्यो छवि बिग्रिन नदिन सरकार स्वयं जिम्मेवार रहनुपर्ने उनले उल्लेख गरे।
सरकारले आगामी दिनमा सुधारका कार्यक्रमलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको अर्थमन्त्री खनालले औँल्याए।


