·

बैंक तथा वित्तीय संस्थाको निक्षेप ६९ खर्ब नाघ्यो, कर्जाको विस्तार भने सुस्त

Author

NEPSE trading

बैंक तथा वित्तीय संस्थाको निक्षेप ६९ खर्ब नाघ्यो, कर्जाको विस्तार भने सुस्त

नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा हाल उच्च मात्रामा निक्षेप संकलन भए पनि सोही अनुपातमा कर्जा प्रवाह हुन नसकेको देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू समेट्दा देशभर कुल निक्षेप रकम ६९ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च निक्षेप स्तर हो।

तर, सोही अवधिसम्म कुल कर्जा लगानी ५५ खर्ब ३७ अर्ब रुपैयाँमा सीमित छ। अर्थात्, निक्षेपमा तीव्र वृद्धि भए पनि कर्जा प्रवाह अपेक्षाकृत कम भइरहेको छ।

विस्तृत रूपमा हेर्दा, वाणिज्य बैंकहरूले मात्रै ६१ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने अन्य विकास बैंक तथा फाइनान्सहरूले बाँकी ७ खर्ब ३५ अर्ब बराबरको निक्षेप भित्र्याएका छन्। कर्जातर्फ वाणिज्य बैंकको लगानी ४९ खर्ब १९ अर्ब रहेको छ भने अन्य संस्थाहरूको कर्जा प्रवाह ६ खर्ब १८ अर्बमा सीमित छ।

राष्ट्र बैंकका अनुसार, बैंकहरूले हालसम्म निक्षेपको ७८.९७ प्रतिशत मात्र कर्जामा प्रयोग गरेका छन्। विद्यमान नियमन अनुसार, बैंकहरू निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न सक्ने व्यवस्था छ। यस अर्थमा, हाल करिब ६ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको रकम लगानीयोग्य अवस्थामा बैंकहरूसँग उपलब्ध छ।

वित्तीय प्रणालीमा प्रशस्त तरलता भए पनि कर्जा विस्तारको गति सुस्त हुनु बजारमा लगानीको माग कमजोर भएको संकेतको रूपमा लिइएको छ। यस्तो अवस्थाले समग्र अर्थतन्त्रको गतिको बहस पनि पुनः ताजा बनाएको छ।

Related News