प्रतिनिधि सभामा आज आर्थिक सर्वेक्षण पेस हुँदै, संसदमा राजनीतिक बहस चर्किने संकेत
Author
NEPSE trading

आज दिउँसो ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सर्वेक्षण संसदमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। आर्थिक सर्वेक्षणले देशको समग्र आर्थिक अवस्था, वृद्धि दर, राजस्व, खर्च, लगानी, व्यापार घाटा लगायत महत्वपूर्ण सूचकहरू समेट्नेछ, जसले आगामी आर्थिक वर्षको बजेट निर्माणको आधार तय गर्नेछ।
यसैबीच, आजको संसद बैठकमा राजनीतिक रुपमा बहस चर्किने सम्भावना देखिएको छ। गृहमन्त्री रमेश लेखकको ‘भिजिट भिसा’ प्रकरणलाई लिएर प्रतिपक्षी दलहरू, विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा कडा प्रस्तुति जनाउने तयारी गरेको छ। रास्वपाले बैठकको सुरुमै औपचारिक निर्णयसहित गृहमन्त्रीसँग जवाफ माग्ने बताएको छ।
त्यस्तै, हालै राजावादी आन्दोलनका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको पनि संसदमा चर्को बहस हुने संकेत देखिएको छ। सो विषयमा सत्तापक्ष र प्रतिपक्षबीच तीव्र खिचातानी हुने अनुमान गरिएको छ।
आजको बैठकमा आर्थिक एजेन्डासँगै राजनीतिक बहसको दोहोरी देखिने स्पष्ट सङ्केत मिलिरहेको छ। संसदको आजको बैठक देशको आर्थिक नीति र समसामयिक राजनीतिक बहसका दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको छ।