ग्रिनेदी इनर्जी लिमिटेडले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटललाई नियुक्त गर्यो
Author
NEPSE TRADING

काठमाडौँ — ग्रिनेदी इनर्जी लिमिटेडले स्थानीयवासी तथा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउन तयारी गर्दै प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो सम्बन्धी सम्झौता २०८२ मंसिर १ गते, सोमबार सम्पन्न भएको हो।
सम्झौतापत्रमा ग्रिनेदी इनर्जी लिमिटेडका तर्फबाट अध्यक्ष युरेशमान कायस्थ र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गरेका छन्।
ग्रिनेदी इनर्जी लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशत साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले कास्की जिल्लास्थित इदी खोलामा स्थापित इदी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०८२ वैशाख ८ गतेदेखि व्यावसायिक उत्पादन गरिरहेको छ।
कम्पनीमा बैंकिङ, जलविद्युत्, बीमा तथा पुँजी बजार क्षेत्रमा विशेष अनुभव र विशिष्टता हासिल गरेका लगानीकर्ताहरूको समूहको संलग्नता रहेको जनाइएको छ। इदी खोला आयोजना हाइड्रोलोजी क्यु–६५ को संरचनामा निर्माण गरिएको हाइड्रोपावर परियोजना हो।
आगामी दिनमा कम्पनीले जलविद्युत्का साथै सौर्य तथा हरित ऊर्जाका क्षेत्रमा पनि लगानी विस्तार गर्ने योजना रहेको अध्यक्ष युरेशमान कायस्थले जानकारी दिएका छन्।



