हेवा खोला ‘ए’ जलविद्युत आयोजना बाढीपछि पुनः सञ्चालनमा
Author
NEPSE TRADING

काठमाडौं — पाँचथर पावर कम्पनी लिमिटेडले संचालित हेवा खोला ‘ए’ जलविद्युत आयोजना बाढीका कारण बन्द भएपछि पुनः सञ्चालनमा आएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई जानकारी दिँदै आयोजना सञ्चालन अब सामान्य अवस्थामा फर्किएको जनाएको छ।
कम्पनीका अनुसार, पाँचथर जिल्लास्थित १४.९ मेगावाट क्षमताको हेवा खोला ‘ए’ आयोजना मिति २०८२ असोज १८ गते राति करिब १२ बजे अविरल वर्षाका कारण आएको बाढीले प्रभावित बनेको थियो। बाढीका कारण प्लान्ट इर्मेर्जेन्सी रूपमा बन्द गर्नुपरेको र टेलरेस (Tailrace) क्षेत्रमा समस्या देखिएको कम्पनीले जनाएको छ।
तर, तत्काल मर्मत कार्य सम्पन्न गरेपछि आयोजना मिति २०८२ असोज २१ गते साँझ ४:११ बजे पुनः सञ्चालनमा आएको हो। कम्पनी सचिव सुन्दर मणि सुवेदीले जारी गरेको सूचनामा आयोजना पुनः सञ्चालनमा आएको जानकारी सम्बन्धित निकायहरूलाई औपचारिक रूपमा दिइएको उल्लेख छ।
हेवा खोला ‘ए’ आयोजना हाल पुनः बिजुली उत्पादन गर्दै राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत आपूर्ति गरिरहेको कम्पनीले जनाएको छ।



