·
साढे ७ महिनायताकै उच्च कारोबार, नेप्से भने ३२ अंकले घट्यो
Author
NEPSE TRADING

काठमाडौं । फागुन २६ गते मंगलबार नेपाली शेयर बजारमा साढे ७ महिनायताकै उच्च कारोबार भएको छ। यस दिन बजारमा कुल २१ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको हो, जुन साउन ११ पछि सबैभन्दा ठूलो कारोबार रकम हो। यसअघि साउन ११ गते २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको थियो भने २०८१ भदौ अन्तिम दिन २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको रेकर्ड छ। निर्वाचनपछि खुलेको बजारमा अघिल्लो दिन तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको थियो, जसका कारण लगानीकर्ताले पर्याप्त किनबेच गर्न पाएका थिएनन् र सो दिन जम्मा ५५ करोड रुपैयाँको मात्र कारोबार भएको थियो।उच्च कारोबार रकम देखिए पनि मंगलबार नेप्से परिसूचक भने घटेको छ। यस दिन नेप्से ३२.०८ अंक अर्थात् १.११ प्रतिशतले घटेर २८४३ विन्दुमा बन्द भएको हो। कारोबार अवधिभर बजारमा तीव्र उतारचढाव देखिएको थियो। कारोबार सुरु भएपछि नेप्से १२:३५ बजे २७९६ अंकसम्म झरेको थियो तर त्यसपछि केही सम्हालिएर अन्तिमसम्म कायम रह्यो। आज ७८ कम्पनीको शेयर मूल्य बढ्दा १७८ कम्पनीको घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो। निर्जीवन बीमा र जीवन बीमा समूहमा सामान्य वृद्धि देखिए पनि बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, अन्य र व्यापार समूहका सूचकहरू घटेका छन्। रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने थ्रीस्टार हाइड्रोपावर, कालिका पावर र लाइफ इन्स्योरेन्स कर्पोरेसनमा पनि उल्लेख्य वृद्धि देखिएको छ। सबैभन्दा धेरै गिरावट भने हिमस्टार ऊर्जामा ६.३६ प्रतिशतले आएको छ। आज सर्वाधिक कारोबार हुने कम्पनीहरूमा ङादी ग्रुप, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र शिवम् सिमेन्ट रहेका छन्।




