सोलु हाइड्रोको आईपीओ र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Author
NEPSE TRADING

मंसिर २१, काठमाडौं — सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि मंसिर ७ गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अवसर पनि आज नै समाप्त हुँदैछ।
सोलु हाइड्रोले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत १० अर्ब रुपैयाँ जारी पूँजीको २० प्रतिशत बराबरको २ करोड कित्ता शेयरमध्ये १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित बासिन्दाका लागि निष्काशन गरेको हो। यी सबै शेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा बिक्री गरिँदै छन्।
आयोजनाको अति प्रभावित क्षेत्र—सोलु दूधकुण्ड नगरपालिका–७, ११ तथा थुलुङ दूधकोशी गाउँपालिका–१ का स्थानीयलाई ४० लाख कित्ता छुट्याइएको छ। बाँकी ६० लाख कित्ता सोलु दूधकुण्ड र थुलुङ दूधकोशीको अन्य वडामा बस्ने स्थानीयका लागि तोकिएको छ। न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ।
आवेदनका लागि स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको नेले शाखा तथा आयोजनास्थल तिङ्गलास्थित काउन्टरमा सेवा लिन सक्नेछन्। दरखास्त फारामका लागि २ रुपैयाँ शुल्क तोकिएको छ।
यसैबीच, आशा लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज नै अन्तिम दिन रहेको छ। संस्थाले मंसिर २२ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई शेयरधनी दर्ता भइसकेका लगानीकर्ताले साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
उक्त लघुवित्तले पुस ४ गते धुलिखेलस्थित होटल अरनिको प्रा.लि.मा वार्षिक साधारण सभा बोलाएको छ, जसको प्रारम्भ दिउँसो २ बजे हुनेछ। सभामा ९.५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव छ। साथै, आवश्यक परे मर्जर वा एक्विजिशन अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि सभामा पेस गरिनेछन्।



