थप १७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
Author
NEPSE trading

सरकारले आन्तरिक ऋण संकलनको सिलसिलामा आज सोमबार १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यसमध्ये १२ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण हो भने ५ अर्ब रुपैयाँ नयाँ जारी गरिने हो।
यो ट्रेजरी बिल ३६४ दिन अवधिको हुनेछ। बोलकबोल प्रणालीमार्फत ऋण लिने प्रक्रिया सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइनमार्फत सञ्चालन हुनेछ। सफल बोलकबोलकर्ताहरूलाई मंगलबार बिल निष्कासन गरिने कार्यालयले जनाएको छ।
बैंक तथा वित्तीय संस्थामा अहिले पर्याप्त तरलता रहेकाले सरकारी ऋणपत्रप्रतिको आकर्षण निकै बढेको छ। यही कारण पछिल्ला ट्रेजरी बिल बोलकबोलमा मागभन्दा कैयौँ गुणा बढी आवेदन परेको देखिएको छ।
उदाहरणका लागि, जेठ २ गते २८ दिन अवधिको १० अर्बको ट्रेजरी बिलमा २८ अर्ब ८६ करोड बराबरको बोल परेको थियो। त्यसैगरी १८२ दिनको ५ अर्बको ट्रेजरी बिलमा २७ अर्ब २९ करोड बराबर र ३६४ दिनको ७.५ अर्बको बिलमा २३ अर्ब ८५ करोड बराबरको बोल परेको थियो।
यसले गर्दा डिस्काउन्ट रेट पनि क्रमशः २.९४%, २.९७% र २.९९% कायम भएको थियो।
तरलता बढी, लगानीको अवसर सीमित भएका कारण बैंकहरूले सरकारी कागजपत्रमा लगानी गरेर भए पनि आम्दानी सुनिश्चित गर्ने प्रयास गरिरहेका छन्। यस्तै प्रवृत्तिले अल्पकालीन ब्याजदरमा निरन्तर गिरावट ल्याएको हो।
सरकारले पनि ब्याजदर सस्तो भएको अवसरलाई उपयोग गर्दै आन्तरिक ऋण उठाउने क्रमलाई तीव्र बनाएको देखिन्छ।