नेपालको सार्वभौम क्रेडिट रेटिङ: लगानी मैत्री अर्थतन्त्रको संकेत
Author
NEPSE trading
अर्थ मन्त्रालयले सार्वभौम क्रेडिट रेटिङको नतिजाले नेपाल लगानी मैत्री देश रहेको संकेत गरेको जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले प्राप्त गरेको ‘बीबी माइनस’ रेटिङले नेपालको अर्थतन्त्र सबल र लगानीका लागि उपयुक्त रहेको पुष्टि गरेको बताए।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "दक्षिण एसियाली मुलुकहरूको रेटिङसँग तुलना गर्दा नेपालको रेटिङ सन्तोषजनक रहेको छ। यसले सरकार, निजी क्षेत्र र लगानीकर्तामा उत्साह थपेको छ।"
सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुँदै जाने तयारीस्वरूप नेपालले वैकल्पिक वित्त स्रोत परिचालनमा क्रेडिट रेटिङलाई उपयोग गर्न सक्ने उल्लेख गरिएको छ।
मन्त्रालयले नेपालको आर्थिक क्षमता बलियो रहेको र अन्तर्राष्ट्रिय बजारमा न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्थाले वैदेशिक लगानी आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, पर्यटन, कृषि, पूर्वाधार, सेवा लगायतका क्षेत्रमा ठूला लगानी भित्रिने अपेक्षा गरिएको छ।
अर्थमन्त्री पौडेलले भने, "यो गौरवको विषय हो। हामी यो नतिजाको आधारमा नेपालको अर्थतन्त्रलाई अझ सबल र लगानीका लागि अनुकूल बनाउन काम गर्नेछौं।"
नेपालले ‘बीबी माइनस’ स्कोर प्राप्त गर्न सफल भएकोमा अर्थ मन्त्रालयले यो नतिजालाई नेपालको वित्तीय र समष्टिगत आर्थिक सबलताको संकेतको रूपमा लिएको छ।