·

राष्ट्र बैंकले फेरि ५० अर्ब तरलता प्रशोचन गर्ने

Author

NEPSE TRADING

राष्ट्र बैंकले फेरि ५० अर्ब तरलता प्रशोचन गर्ने

काठमाडौं ।
वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत ५० अर्ब रुपैयाँको तरलता प्रशोचन गर्ने भएको छ। केन्द्रीय बैंकले आगामी १७५ दिनका लागि उक्त रकम संकलन गर्न आज दिउँसो २ बजे अनलाइन बोलकबोल प्रक्रिया सञ्चालन गर्ने जनाएको छ।

राष्ट्र बैंकका अनुसार पछिल्लो तथ्यांकमा वित्तीय प्रणालीको कुल निक्षेप ७५ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलता रहँदा ब्याजदर घटे पनि कर्जा प्रवाह अपेक्षाकृत रुपमा सुस्त बनेको छ। यही कारण राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बारम्बार निक्षेप संकलन उपकरणको प्रयोग गर्दै आएको हो।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्। सहभागीले न्यूनतम १० करोडदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यस पटकको निक्षेप संकलन उपकरणको परिपक्वता मिति २०८३ वैशाख २३ गते रहनेछ र ब्याजदर बोलकबोलमार्फत निर्धारण गरिनेछ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको हालसम्ममा निक्षेप संकलन उपकरणमार्फत ९ खर्ब ४९ अर्ब ६० करोड बराबरको तरलता प्रशोचन गरिसकेको छ। तीमध्ये करिब २ खर्ब ३४ अर्ब ९५ करोड हालसम्म केन्द्रीय बैंकमा रहेको छ भने स्थायी निक्षेप सुविधामा ५ खर्ब ८७ अर्ब १५ करोड बैंकहरूले जम्मा गरेका छन्।

बैंकहरूले लगानी गर्न नसकेको करिब ८ खर्ब २२ अर्ब १० करोड रुपैयाँ राष्ट्र बैंकमा नै अड्किएको छ। गत आर्थिक वर्षको मध्यतिरदेखि देखिएको यो अधिक तरलता अहिले बैंकिङ क्षेत्रकै प्रमुख समस्या बनेको छ। बजारमा कर्जा माग घट्नु र व्यवसायिक गतिविधि सुस्त रहनु यस स्थितिको मुख्य कारण मानिएको छ।

यस कारण राष्ट्र बैंकले खुला बजार कारोबारमार्फत ६ महिनासम्मको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गरी बजारबाट पैसा तान्दै आएको छ।

Related News