रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा, एक युनिटबाट ३७ मेगावाट उत्पादन सुरु
Author
NEPSE TRADING

काठमाडौं — नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको नेतृत्वमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ। गत असार २४ गते तिब्बत क्षेत्रबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनका कारण आएको भीषण बाढीले आयोजना संरचना—विशेषगरी हेडवर्क्स—मा ठूलो क्षति पुर्याएपछि उत्पादन रोकिएको थियो।
हेडवर्क्सको प्राथमिक मर्मत कार्य सम्पन्न भएपछि शनिबारदेखि विद्युतगृहमा रहेका तीन युनिटमध्ये एउटा युनिट सञ्चालनमा ल्याइएको हो। १११ मेगावाट जडित क्षमताको आयोजनामा प्रत्येक युनिट ३७ मेगावाट विद्युत उत्पादन गर्ने क्षमता राख्छ। बाँकी दुई युनिट पनि एक महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार हेडवर्क्स क्षेत्रमा थप आवश्यक मर्मत कार्य आगामी वर्षायामअघि सक्ने गरी पुनर्निर्माण तीव्र गति साथ भइरहेको छ। उनले प्राधिकरण, चिलिमे तथा रसुवागढी हाइड्रोपावर कम्पनीका कर्मचारी र पदाधिकारीको अथक परिश्रमका कारण आयोजनालाई पुनः सञ्चालनमा ल्याउन सफल भएको बताए। “आयोजनाबाट उत्पादन सुरु भएकाले हिउँदयामको विद्युत माग व्यवस्थापनमा सहयोग पुग्नेछ,” सिलवालले भने।
असारमा आएको बाढीले हेडवर्क्स क्षेत्रमा काठ, झार, बोटबिरुवालगायतका वस्तु रोक्ने मेसिन, गेट, उपकरणहरू पूर्ण रूपमा बगाएको थियो। हेडवर्क्सका भवनमा दुई मिटरभन्दा बढी लेदो थुप्रिएको थियो भने विशाल ढुंगाले संरचना क्षतिग्रस्त बनाएको थियो। सुरुङतर्फ पानी पठाउने संरचना समेत भत्किएको थियो। त्यस्तै, टेलरेसबाट पानी फर्केर टर्वाइन रहेको तला पूरै डुबानमा परेको थियो।
उक्त दुर्घटनाका बेला आयोजनामा कार्यरत २२ जना कर्मचारीलाई सेनाको हेलिकोप्टरमार्फत हेडवर्क्स क्षेत्र र आवास क्षेत्रबाट सुरक्षित उद्धार गरिएको थियो। कर्मचारी आवास क्षेत्र पूर्ण रूपमा बगाएको थियो। त्यतिबेला स्याफ्रुबेंसीदेखि आयोजनास्थलसम्मको मुख्य राजमार्ग पनि पहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध भएको थियो।
रसुवागढी आयोजनाबाट वाणिज्यिक उत्पादन पुस १६, २०७८ देखि सुरु भएको थियो। तर बाढीपछिको क्षतिले सञ्चालन अवरुद्ध भएपछि लामो समय विद्युत उत्पादन रोकेको थियो। आयोजनाका सबै युनिट सञ्चालनमा आएपछि वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुने अनुमान छ, जसबाट कम्पनीले वार्षिक करिब ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने अपेक्षा गरिएको छ।


