·

अर्काको कोल्याटरल बेच्नु ‘भ्रष्टाचारको भाग’ : गभर्नर पौडेल

Author

NEPSE TRADING

अर्काको कोल्याटरल बेच्नु ‘भ्रष्टाचारको भाग’ : गभर्नर पौडेल

काठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय क्षेत्रमा हुने कर्जासम्बन्धी अनियमितताप्रति कडा चेतावनी दिएका छन्। उनले जबरजस्ती अर्काको कोल्याटरल बेचेर फाइदा उठाउने गतिविधि ‘पार्ट अफ करप्सन’ भएको उल्लेख गर्दै यस्तो कार्य राष्ट्र बैंकले क्षम्य रूपमा नलिने स्पष्ट सन्देश दिएको छ।

आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारण सभामा बोल्दै गभर्नर पौडेलले सरकारी र निजी बैंकबीचको व्यवहारगत भिन्नता पनि व्याख्या गरे। उनका अनुसार सरकारी बैंकले केही जोखिम उठाउन सक्लान्, तर निजी बैंकमा त्यस्ता गतिविधि देखिए राष्ट्र बैंकले कठोर कदमहरू उठाउनेछ।

गभर्नर पौडेलले अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत विभिन्न महत्त्वपूर्ण सुधारहरू गरिएको बताए। उनले वित्तीय संस्थाहरूले नाफा वृद्धि गर्न सहज होस् भन्ने उद्देश्यले नीतिगत प्रावधानहरू परिमार्जन भएको उल्लेख गरे।

उनका अनुसार महानगर क्षेत्रभित्र रहेका धेरै बैंक शाखा समायोजन गर्ने बाटो खोलिएको छ। डिजिटल कारोबार विस्तारका लागि बैंकलाई आवश्यक वातावरण तयार पारिएको छ। यी सबै उपायको लक्ष्य अर्थतन्त्रमा सकारात्मक गति भर्नु रहेको उनले बताए।

गभर्नर पौडेलका अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको निक्षेपलाई लगानीमा परिणत गर्न राष्ट्र बैंक निरन्तर केन्द्रित रहेको छ। उनले अर्थतन्त्रको ‘मुभमेन्ट’ मनोवैज्ञानिक प्रभावमा पनि निर्भर हुने उल्लेख गरे।

टोपी उद्योगदेखि आईटी क्षेत्रसम्म पछिल्ला केही वर्षमा महत्वपूर्ण प्रगति भएको उल्लेख गर्दै उनले भने, “देशलाई अगाडि बढाउने आधारहरू पर्याप्त छन्, तर मनोबल कमजोर छ। यसलाई उठाउन सकारात्मक क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्छ।”

गभर्नर पौडेलले देशमा अवसर नभएको बहानामा अभिभावकहरूले सन्तानलाई विदेश पठाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे। उनका अनुसार एक दशकभन्दा बढी समय “नेपालमा केही हुँदैन” भन्ने नकारात्मक मानसिकताले जनशक्ति पलायनलाई बढावा दियो।

उनी भन्छन्, “अब तिनै सक्षम जनशक्तिलाई फिर्ता ल्याउनुपर्छ। तर, फर्किएकालाई राजनैतिक महत्वाकांक्षामा धकेल्ने होइन, उत्पादनशील क्षेत्रमा उनीहरूको उपयोग गर्नुपर्छ।”

गभर्नर पौडेलले बैंक तथा वित्तीय क्षेत्रमा लागू हुने ‘ब्ल्याकलिस्ट’ व्यवस्थाबारे राष्ट्र बैंक अध्ययनरत रहेको जानकारी दिए। उनका अनुसार निर्माण उद्योगमा देखिएको समस्या माइक्रोफाइनान्स मोडलसँग मिल्दोजुल्दो छ, जहाँ एक व्यक्तिको गल्तीका कारण पूरा समूहलाई नै प्रभाव पर्न गएको छ।

उनी भन्छन्, “ब्ल्याकलिस्टिङले अनावश्यक रूपमा धेरै व्यवसायीलाई थिचेको छ। सुधारको आवश्यकता छ, र राष्ट्र बैंक त्यसतर्फ गम्भीर छ।”

गभर्नर पौडेलका अनुसार कुनै पनि परिवर्तन रातारात सम्भव हुँदैन। त्यसैले सुधारका प्रक्रियाहरू चरणबद्ध रूपमा अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

उनले उदाहरण प्रस्तुत गर्दै भने, “फेलियर हुनु गलत होइन। व्यवसायमा कहिलेकाहीँ असफलताले नै नयाँ कथा निर्माण गर्छ। हामीले राम्रो स्टोरीहरूलाई प्राथमिकतामा राख्नुपर्छ।”

Related News