·

पुँजी बजार सुधार प्रतिवेदनप्रति स्टक ब्रोकरहरूको स्वागत — तत्काल कार्यान्वयनको माग

Author

NEPSE TRADING

पुँजी बजार सुधार प्रतिवेदनप्रति स्टक ब्रोकरहरूको स्वागत — तत्काल कार्यान्वयनको माग

स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा तयार भएको पुँजी बजार सुधार कार्यदलको प्रतिवेदनको स्वागत गर्दै उक्त प्रतिवेदनका सुझावहरू तत्काल कार्यान्वयनमा लैजान माग गरेको छ ।

अर्थमन्त्री खनालको निर्देशनमा नेपाल धितोपत्र बोर्डका कार्यवाहक कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलले केही दिनअघि पुँजी बजार सुधारका सुझावसहितको प्रतिवेदन बुझाएको थियो ।
उक्त प्रतिवेदन बुझाएसँगै अर्थमन्त्री खनालले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगायत सरोकारवाला निकायहरूलाई आवश्यक नीतिगत र संस्थागत सुधारका लागि निर्देशन दिएका छन् ।

कार्यदलको प्रतिवेदन सार्वजनिक भएपछि स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकालले अर्थमन्त्री खनालको सक्रियतालाई पुँजी बजार सुधारको दिशामा ऐतिहासिक कदम भन्दै प्रशंसा गरेका छन् ।
उनका अनुसार, “अर्थमन्त्रीले पुँजी बजार सुधार र दिगो विकासका लागि देखाएको अग्रसरता नेपालको पूँजी बजारको इतिहासमा कोसेढुंगा सावित हुनेछ।”

अध्यक्ष ढकालले कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनलाई व्यावहारिक र समयानुकूल बताउँदै भने,

“यो प्रतिवेदनले शेयर धितो कर्जाको सीमा हटाउने, बैंक तथा वित्तीय संस्थामाथिको सेयर कारोबार बन्देज हटाउने, नयाँ वित्तीय औजारहरू भित्र्याउने, नेप्सेको पुनर्संरचना र निजीकरणजस्ता महत्वपूर्ण सुझाव दिएको छ — यी सबै सुझावहरूको तत्काल कार्यान्वयन अत्यावश्यक छ।”

उनले थपे, “अघिल्ला वर्षहरूमा बनेका धेरैजसो कार्यदलका प्रतिवेदनहरू कार्यान्वयनमा नआएकाले यसपटक सरकार र नियामक निकायहरूले ढिलाइ नगरी कार्यान्वयनमा लैजानु जरुरी छ।”

ढकालले अर्थमन्त्रीलाई धन्यवाद दिंदै भने, “जसरी उहाँले पुँजी बजार सुधारका लागि नेतृत्व र प्रतिबद्धता देखाउनुभयो, त्यही दृढताका साथ कार्यान्वयनमा लैजाने हो भने नेपालमा पुँजी बजारको भविष्य उज्ज्वल हुनेछ।”

#NepalStockMarket #CapitalMarketReform #StockBrokersAssociation #SagarDhakal #RameshworKhanal #Nepse #NepalRastraBank #SEBON #FinancialReform #CapitalMarketDevelopment

Related News