शेयर बजारमा : दीर्घकालीन र अल्पकालीन लगानी
Author
NEPSE trading
दीर्घकालीन र अल्पकालीन लगानी: दुई भिन्न दृष्टिकोण
दीर्घकालीन र अल्पकालीन लगानी दुई भिन्न दृष्टिकोण हुन्, जसका आफ्नै उद्देश्य र रणनीति हुन्छन्। यी दुवै लगानीका प्रकारहरूको फरकलाई तलको टेबलमा दाँजेर बुझ्न सकिन्छ।
दीर्घकालीन लगानी
१. उद्देश्य: दीर्घकालीन लगानीकर्ताको उद्देश्य लामो समयावधिका लागि सम्पत्ति होल्ड गरेर कम्पनीको वृद्धि र नाफाबाट लाभ आर्जन गर्नु हो। प्रायः पेन्सन फन्डको अवधारणामा गरिन्छ।
२. लाभ: दीर्घकालीन लगानीकर्ताले समयसँगै पर्याप्त वृद्धि हुने, नियमित लाभांश बाँड्ने र बिक्री गर्न सहज कम्पनीको शेयरमा लगानी गर्छन्। कम्पनीको आधारभूत पक्षको आधारमा लगानी गरिन्छ।
३. जोखिम सहनशीलता: दीर्घकालीन लगानीकर्ताले सामान्यतया बढी जोखिम सहन सक्छन् किनभने उनीहरूलाई बजारको उतारचढावबाट बाहिर निस्कने लामो अनुभव हुन्छ।
४. रणनीति: किन्नु र होल्ड गर्नु दीर्घकालीन लगानीकर्ताको साझा रणनीति हो। बजारमा नयाँ लगानीकर्ताहरू डराएको अवस्थामा दीर्घकालीन लगानीकर्ता आफूले विश्वास गरेको कम्पनीको शेयर किन्छन् र नयाँ लगानीकर्ताहरूले खरिद गर्दा बिक्री गर्छन्।
५. कर लाभ: दीर्घकालीन लगानीकर्ताले करमा पनि लाभ लिन्छन्। एक वर्षभन्दा बढी राखिएको सम्पत्तिहरूमा पूँजीगत लाभकर ५ प्रतिशत मात्र तिर्नुपर्छ।
६. समान्य कारोबार: दीर्घकालीन लगानीकर्ताले नियमित कारोबार कम गर्छन्। एकपटक खरिद गरेपछि वित्तीय लक्ष्य पूरा नगरेसम्म बिक्री गर्दैनन्।
अल्पकालीन लगानी
१. उद्देश्य: अल्पकालीन लगानी तुरुन्त प्रतिफल प्राप्त गर्ने उद्देश्यले गरिन्छ। लगानीकर्ताले बजारको उतारचढावलाई अवसर मानेर तरलता आवश्यकता परिपूर्ति गर्छन्।
२. लाभ: लगानीकर्ताले सानो कम्पनी, बजारको हल्ला र साथीभाइको सल्लाहमा लगानी गर्छन्। प्राविधिक ज्ञानको आधारमा खरिद बिक्री गरिन्छ।
३. जोखिम सहनशीलता: अल्पकालीन लगानीकर्तासँग जोखिम सहन क्षमता कम हुन्छ र उनीहरूको लगानी पनि पर्याप्त मात्रामा नहुने भएकाले पूँजी जोगाउने र तत्काल प्रतिफल लक्षित हुन्छन्।
४. रणनीति: अल्पकालीन लगानीकर्ताहरू सक्रिय कारोबारमा संलग्न हुन्छन्। छोटो समयमा खरिदबिक्री गर्छन् र प्राविधिक विश्लेषण तथा बजार समयको सहायता लिन्छन्।
५. कर: अल्पकालीन लाभ कर दीर्घकालीन लाभकर भन्दा बढी हुन्छ। खरिद गरेको शेयर एक वर्षभन्दा कम समयमा बेच्दा पूँजीगत लाभकर ७.५ प्रतिशत तिर्नुपर्छ, जसले प्रतिफलमा असर गर्छ।
६. निरन्तर कारोबार: अल्पकालीन लगानीकर्ताले निरन्तर खरिद–बिक्री जारी राख्छन्। यसरी निरन्तरको कारोबारले लागत दीर्घकालीन लगानीकर्ताको तुलनामा धेरै हुन्छ।
कुन लगानी उपयुक्त ?
बजारको उतारचढाव सहन सक्ने लामो समयको वित्तीय लक्ष्य भएका व्यक्तिहरूका लागि दीर्घकालीन लगानी उपयुक्त हुन्छ। तुरुन्तै लाभ चाहिने र छोटो अवधिका अवसरहरूको फाइदा लिन चाहनेका लागि अल्पकालीन लगानी उपयुक्त हुन्छ।
दुवै लगानीमा विविधीकरण र जोखिम व्यवस्थापन गर्न आवश्यक छ। तपाईंको वित्तीय आवश्यकता र उद्देश्य पूरा गर्न पोर्टफोलियोमा दीर्घकालीन र अल्पकालीन दुवै लगानीको संयोजन राम्रो मानिन्छ।
निष्कर्ष
दीर्घकालीन र अल्पकालीन लगानीका बीचको छनोट तपाईंको वित्तीय लक्ष्य, जोखिम सहन क्षमता र लगानी अवधिमा निर्भर गर्छ। एक राम्रो सन्तुलित पोर्टफोलियोले विभिन्न वित्तीय आवश्यकताहरूलाई सम्बोधन गर्न र समयसँगै स्थिरता र वृद्धि प्रदान गर्न मद्दत गर्छ। दीर्घकालीन र अल्पकालीन दुवै लगानीका फाइदा र जोखिमलाई विचार गरी सही निर्णय लिनु महत्वपूर्ण हुन्छ।