·

आर्थिक विकासलाई चुनावी साझा एजेण्डा बनाउन अध्यक्ष ढकालको आग्रह

Author

NEPSE TRADING

आर्थिक विकासलाई चुनावी साझा एजेण्डा बनाउन अध्यक्ष ढकालको आग्रह

वालिङ (स्याङ्जा) – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको दिगो आर्थिक विकासका लागि निजी क्षेत्रको एजेण्डालाई सबै राजनीतिक दलले साझा चुनावी एजेण्डा बनाउनुपर्नेमा जोड दिएका छन् । स्याङ्जामा बुधबारदेखि सुरु भएको ‘नवौँ वालिङ महोत्सव’ को उद्घाटन गर्दै अध्यक्ष ढकालले आगामी निर्वाचनमा सबै दलको घोषणापत्रमा अर्थतन्त्रको विकासले प्राथमिकता पाउनुपर्ने धारणा राखेका हुन् ।

अध्यक्ष ढकालले मुलुक अहिले निर्वाचनको पूर्वसन्ध्यामा रहेको स्मरण गराउँदै भने, “राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण अहिलेको पहिलो आवश्यकता हो । राजनीतिक दलहरू यतिखेर चुनावी घोषणापत्र लेख्ने तयारीमा हुनुहुन्छ, म आग्रह गर्न चाहन्छु– ती घोषणापत्रमा आर्थिक विकास र निजी क्षेत्रका एजेण्डाहरूले प्राथमिकता पाउनुपर्छ ।”

साझा एजेण्डाको खाँचो

जुनसुकै सरकार आए पनि अर्थतन्त्रको मूल मुद्दामा सबैको एउटै स्वर हुनुपर्ने निजी क्षेत्रको अडान रहेको ढकालको तर्क थियो । महासंघले विगतदेखि नै सबै दललाई एउटै मञ्चमा राखेर आर्थिक बहस चलाउँदै आएको चर्चा गर्दै उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको गठन र यसले दिएका कतिपय सुझावहरू कार्यान्वयनमा आउनु सकारात्मक रहेको बताए ।

औद्योगिक विकास र रोजगारी

निजी क्षेत्रले लामो समयदेखि औद्योगिक विकासमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले राज्यले ती प्रयासलाई नीतिगत रूपमै सघाउनुपर्ने बताए । “देशमा लगानीको वातावरण बनाउन अवरोधका रूपमा रहेका कतिपय परम्परागत कानुनहरूको संशोधन गर्ने काम सुरु भएको छ,” उनले भने, “मैले महासंघको नेतृत्व सम्हालेपछि विधानलाई समय सापेक्ष बनाउनेदेखि नीतिगत सुधारका लागि दबाब दिनेसम्मका कार्यहरू प्राथमिकताका साथ सम्पन्न भएका छन् ।”

महोत्सवको लक्ष्य र प्रभाव

वालिङ उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको यस महोत्सवले गण्डकी प्रदेशकै आर्थिक र पर्यटकीय गतिविधि चलायमान बनाउने अपेक्षा गरिएको छ । माघ २५ गतेसम्म सञ्चालन हुने महोत्सवमा १० करोडको अल्पकालीन कारोबार र तीन लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ ।

अध्यक्ष ढकालले स्थानीय उत्पादनको प्रवद्र्धन र बजार विस्तारमा यस्ता महोत्सवहरू कोसेढुङ्गा सावित हुने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

Related News