सिन्धुलीमा नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट, ४ जना पक्राउ, १ करोड ८० लाखभन्दा बढी रकम बरामद
Author
NEPSE TRADING

सिन्धुली । सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिका–२ बस्तीपुरस्थित Nepal SBI Bank को हायुटार शाखामा मंगलबार राति सशस्त्र लुटपाट भएको छ। नकाबधारी पाँच–छ जनाको समूहले बैंकमा प्रवेश गरी लुटपाट गर्दा एक जना सुरक्षा गार्ड घाइते भएका छन् भने ठूलो रकम लुटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मंगलबार साँझ करिब ८:४० बजे लुटेराहरूले बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिएर खुकुरी प्रहार गरी घाइते बनाएका थिए। त्यसपछि बैंकका कर्मचारीलाई समेत नियन्त्रणमा लिएर ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेर फरार भएका थिए।
लुटेराहरू भाग्ने क्रममा स्थानीयको होहल्लापछि केही रकम बोकेको बोरा घटनास्थलमै छाडेर भागेको र थप खोजतलासका क्रममा घटनास्थलको २–३ किलोमिटर क्षेत्रभित्र विभिन्न स्थानबाट रकम फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार हालसम्म १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद गरिएको छ।
घटनापछि प्रहरीले लुटपाटमा प्रयोग भएको बा.डी.०३९८ नम्बरको टाढा सुमो जीप र चालक भवत सिंह थापालाई नियन्त्रणमा लिएको छ। चालकका अनुसार ‘केटी भगाउनु छ’ भन्ने बहानामा सुमो रिजर्भ गरिएको थियो। प्रारम्भिक अनुसन्धानपछि चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, लुटपाटमा संलग्नमध्ये ४ जना व्यक्ति घ्याङ्लेख गाउँपालिका–१ सुकाचुरी क्षेत्रबाट स्थानीयको सहयोगमा पक्राउ परेका छन्। पक्राउ परेकाहरूबारे थप विवरण संकलन भइरहेको एसपी सुवेदीले जानकारी दिए।
प्रहरीका अनुसार फरार रहेका अन्य संलग्नहरूको खोजी तीव्र पारिएको छ भने घटनासम्बन्धी अनुसन्धान जारी छ। बैंक सुरक्षा व्यवस्था, घटनामा प्रयोग भएका हतियार तथा लुटिएको बाँकी रकमको खोजीमा प्रहरी परिचालन गरिएको छ।
नेपाल एसबीआई बैंकको हायुटार शाखामा भएको यो घटनाले ग्रामीण क्षेत्रमा बैंक सुरक्षाको चुनौती र आपराधिक गतिविधिमाथि थप सतर्कता आवश्यक रहेको संकेत गरेको छ।



