वाणिज्य बैंकहरूको औसत ईपीएस १६.३० रुपैयाँ, नाफा सुधारिए पनि जोखिम कायमै
Author
NEPSE TRADING

चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त) सम्म आइपुग्दा वाणिज्य बैंकहरूको औसत प्रतिसेयर आम्दानी (ईपीएस) १६.३० रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा औसत ईपीएस १४.४० रुपैयाँ रहेकोमा करिब १.९० रुपैयाँले वृद्धि भएको हो। बैंकहरूको कुल नाफा बढेसँगै प्रतिशेयर आम्दानीमा समेत सुधार देखिएको हो।
अर्धवार्षिक अवधिमा वाणिज्य बैंकहरूको नाफा साढे ११ प्रतिशतले बढेको छ। पुस मसान्तसम्म २० वाणिज्य बैंकले कुल ३० अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको नाफा २७ अर्ब ३६ करोड रुपैयाँ थियो। नाफामा आएको यो वृद्धिले बैंकिङ क्षेत्र क्रमशः स्थायित्वतर्फ उन्मुख हुँदै गएको संकेत गर्छ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये एक बैंक बाहेक सबैको ईपीएस धनात्मक रहेको छ। लक्ष्मी सनराइज बैंकको भने पुससम्म नोक्सानी रहेकाले ईपीएस ऋणात्मक देखिएको छ। कुल नाफालाई जारी सेयर संख्याले भाग गरेर निकालिने ईपीएस सेयर बजार विश्लेषणको एक महत्वपूर्ण सूचक मानिन्छ, जसले बैंकको नाफा उत्पादन क्षमताको अवस्था देखाउँछ।
चालु आवको दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै ईपीएस नबिल बैंकको रहेको छ। बैंकको ईपीएस ३४.०४ रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.९९ रुपैयाँले बढी हो। अघिल्लो वर्ष पुससम्म नबिलको ईपीएस २४.०५ रुपैयाँ थियो। नाफाका आधारमा समेत अग्रस्थानमा रहेको नबिल बैंकले आफ्नो बलियो आम्दानी क्षमता निरन्तर कायम राखेको देखिन्छ।
ईपीएसका आधारमा दोस्रो स्थानमा एभरेष्ट बैंक रहेको छ। बैंकको ईपीएस ३०.८६ रुपैयाँ रहेको भए पनि यो गत वर्षको तुलनामा १.२० रुपैयाँले घटेको हो। अघिल्लो वर्षको सोही अवधिमा एभरेष्ट बैंकको ईपीएस ३२.०६ रुपैयाँ थियो। यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ईपीएस २७.३५ रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५.४० रुपैयाँले कम हो।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने उल्लेखनीय सुधार देखाएको छ। बैंकको ईपीएस २२.६४ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ९.७६ रुपैयाँको तुलनामा १२.८८ रुपैयाँले बढी हो। पछिल्ला वर्षहरूमा सरकारी बैंकहरूले गरेको संरचनागत सुधार र कर्जा व्यवस्थापनको सकारात्मक प्रभाव यसमा देखिएको विश्लेषकहरूको भनाइ छ।
अन्य बैंकहरूमध्ये कुमारी बैंकको ईपीएस २०.७४ रुपैयाँ र सानिमा बैंकको २०.५४ रुपैयाँ रहेको छ। प्राइम कमर्सियल, नेपाल एसबिआई, सिद्धार्थ, नेपाल बैंक, एनएमबि, ग्लोबल आईएमई, माछापुच्छ्रे र हिमालयन बैंकको ईपीएस ११ देखि २० रुपैयाँको दायरामा रहेको छ। कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र सिटिजन्स बैंकको ईपीएस भने १० रुपैयाँभन्दा कम देखिएको छ।
समीक्षा अवधिमा एनआइसी एसिया बैंक सबैभन्दा कम ईपीएस भएको बैंक बनेको छ। बैंकको ईपीएस मात्र १ रुपैयाँ ७७ पैसा रहेको छ। उच्च सञ्चालन खर्च, प्रोभिजनिङ दबाब र नाफामा आएको संकुचनले बैंकको आम्दानी कमजोर बनेको देखिन्छ।
सबैभन्दा चिन्ताजनक अवस्था लक्ष्मी सनराइज बैंकको रहेको छ। मर्जरपछि अपेक्षित सिनर्जी प्राप्त हुन नसक्नु, बढ्दो खराब कर्जा र प्रोभिजनिङ दबाबका कारण बैंक पुससम्म नोक्सानीमा रहेको छ। यस कारण बैंकको ईपीएस २.०४ रुपैयाँ ऋणात्मक देखिएको छ।
समग्रमा बैंकिङ क्षेत्रको औसत नाफा र ईपीएस सुधारोन्मुख देखिए पनि यो सुधार केही सीमित बैंकमा केन्द्रित देखिन्छ। बढ्दो खराब कर्जा, कर्जा असूलीको चुनौती र प्रोभिजनिङको दबाबका कारण सबै बैंकले समान रूपमा उच्च दरमा नाफा बढाउन सक्ने अवस्था भने छैन।
विश्लेषकहरूका अनुसार लगानीकर्ताले ईपीएस मात्र होइन, नाफाको दिगोपन, कर्जा गुणस्तर, पूँजी पर्याप्तता र जोखिम व्यवस्थापनलाई समेत ध्यान दिनु आवश्यक छ। पछिल्लो तथ्यांकले बैंकिङ क्षेत्रमा अवसरसँगै जोखिम पनि समानान्तर रूपमा बढिरहेको स्पष्ट संकेत गरेको छ।



