तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण
Author
NEPSE TRADING

काठमाडौँ— ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना बाट प्रभावित १० घरपरिवारका लागि मुआब्जा निर्धारण गरिएको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजना निर्माणका क्रममा लोक्पा, धारापानी, धोक्लाक, बुल्साट र झापुटार क्षेत्रमा पुगेका क्षतिका आधारमा मुआब्जा तोकेको आयोजनाले जनाएको छ।
समितिले स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा व्यास नगरपालिका–१४, सोढेमा दमौली–भरतपुर प्रसारण लाइनअन्तर्गत टावरको रिटेनिङ वाल निर्माण गर्दा क्षति पुगेका सुन्तलाका बोटको क्षतिपूर्तिसमेत निर्धारण गरेको छ। यसका साथै जलाशय तथा बफर जोन क्षेत्रमा पर्ने ऐलानी प्रयोगकर्ता तथा अव्यवस्थित बसोबासीले माग गरेको क्षतिपूर्तिको विषयमा पनि समितिले छलफल गरी आवश्यक प्रक्रिया अघि बढाएको आयोजनाले जनाएको छ।
बैठकमा मन्त्रिपरिषद्को निर्णयअनुसार जलाशय तथा बफर जोनको सीमाङ्कनभित्र लामो समयदेखि खेती, उपयोग तथा बसोबास गर्दै आएका ऐलानी जग्गासम्बन्धी स्थलगत अध्ययन र सर्वेक्षण गर्न मुआब्जा निर्धारण समितिलाई तोकिएको अतिरिक्त जिम्मेवारीका विषयमा पनि छलफल भएको छ। यसले प्रभावित क्षेत्रका बासिन्दाको हक–हित सुनिश्चित गर्ने दिशामा काम अघि बढाउने अपेक्षा गरिएको छ।
आयोजनाको निर्माण कार्य विभिन्न प्याकेजमार्फत अघि बढिरहेको छ। प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना (हेडवर्क्स), प्याकेज–२ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरण र प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको छ।
आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ। वित्तीय व्यवस्थापनअनुसार Asian Development Bank ले १५ करोड डलर, Japan International Cooperation Agency ले १८ करोड ४० लाख डलर, European Investment Bank ले आठ करोड ५० लाख डलर र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरण ले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय संरचना तय गरिएको छ।
आयोजनाले मुआब्जा तथा पुनर्वाससम्बन्धी विषयलाई प्राथमिकतामा राख्दै निर्माण कार्यलाई तीव्रता दिने जनाएको छ।


