कहीं नभएको जात्रा हाँडिगाउँमा ! AGM मा जान डिम्याट स्टेटमेन्टमै फोटो चाहिने ?
Author
NEPSE TRADING

काठमाडौँ । सेयरधनीहरूको अधिकारसँग जोडिएको वार्षिक साधारणसभा (AGM) सम्बन्धी एउटा सूचनाले पूँजी बजारमा चर्को बहस जन्माएको छ। Synergy Power Development Limited ले प्रकाशित गरेको AGM सूचनामा उल्लेख गरिएको एक बुँदालाई लिएर लगानीकर्ताहरू अन्योलमा परेका छन्।
कम्पनीको सूचनाअनुसार AGM मा सहभागी हुन सेयरधनीले आफ्नो डिम्याट खाताको विवरण (Demat Statement) तथा परिचय खुल्ने कागजात पेश गर्नुपर्ने उल्लेख गरिएको छ। यही व्यवस्थालाई सामाजिक सञ्जालमा फरक–फरक तरिकाले व्याख्या गरिँदा “डिम्याट स्टेटमेन्टमै फोटो नदेखिए AGM मा प्रवेश नपाइने” भन्ने बुझाइ फैलिएको हो।
यस विषयले लगानीकर्ताबीच असन्तोष बढाएको छ। धेरै सेयरधनीहरूले हाल प्रचलनमा रहेका डिम्याट स्टेटमेन्टमा व्यक्तिको फोटो देखिने व्यवस्था नै नभएको उल्लेख गर्दै यस्तो सर्त अव्यावहारिक भएको बताएका छन्। “डिम्याट खातामा फोटो KYC मा हुन्छ, तर स्टेटमेन्टमा हुँदैन, त्यसो भए AGM मा कसरी सहभागी हुने ?” भन्ने प्रश्न उठिरहेको छ।
पूँजी बजारसम्बन्धी विद्यमान कानुनी व्यवस्था हेर्दा पनि AGM मा सहभागी हुन डिम्याट स्टेटमेन्टमै फोटो अनिवार्य हुनुपर्ने भन्ने कुनै स्पष्ट प्रावधान छैन। कम्पनी ऐन तथा धितोपत्रसम्बन्धी नियमावलीले सेयरधनीको पहिचानका लागि वैकल्पिक माध्यम खुला राखेको अवस्थामा यस्तो अस्पष्ट सर्तले सेयरधनीको अधिकार सीमित गर्न खोजिएको भन्दै आलोचना भइरहेको छ।
यस प्रकरणपछि नियामक निकाय Securities Board of Nepal (सेबोन) को भूमिकामाथि पनि प्रश्न उठेको छ। लगानीकर्ताहरूले AGM जस्तो सेयरधनीको मौलिक अधिकारसँग जोडिएको विषयमा कम्पनीहरूले मनपरी व्याख्या गर्न नपाउने भन्दै सेबोनबाट तत्काल स्पष्ट निर्देशन आउनुपर्ने माग गरेका छन्।
पूँजी बजारका जानकारहरूका अनुसार, सेयरधनीको पहिचान आवश्यक भए पनि त्यसका लागि नागरिकता, आधिकारिक परिचयपत्र वा अन्य कानुनी विकल्प प्रयोग गर्न सकिने अवस्था छ। डिम्याट स्टेटमेन्टमै फोटो खोज्नु भने प्राविधिक रूपमा सम्भव नभएको र व्यवहारिक पनि नरहेको उनीहरूको भनाइ छ।
लगानीकर्ताहरूले यस अवस्थालाई व्यङ्ग्य गर्दै “कहीं नभएको जात्रा हाँडिगाउँमा” भन्ने टिप्पणीसमेत गरेका छन्। नियामकको स्पष्टता नआएसम्म यस्तो विषयले पूँजी बजारमा थप अन्योल र अविश्वास सिर्जना गर्ने चिन्ता व्यक्त गरिएको छ।


