बैंकिङ क्षेत्रमा केही समस्या भए पनि वित्तीय प्रणाली कमजोर छैन : अर्थमन्त्री खनाल
Author
NEPSE TRADING

अर्थमन्त्री रामेश्वर खनालले हाल बैंकिङ तथा वित्तीय क्षेत्रमा केही समस्या देखिए पनि समग्र वित्तीय प्रणाली कमजोर अवस्थामा नरहेको स्पष्ट पारेका छन्।
राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले समय–समयमा विभिन्न कारणले बैंकिङ क्षेत्रमा समस्या देखिनु स्वाभाविक प्रक्रिया भएको बताए। उनले अहिले देखिएका समस्याका कारण वित्तीय क्षेत्र नै कमजोर भएको भन्ने निष्कर्ष निकाल्न नहुने उल्लेख गरे।
अर्थमन्त्री खनालका अनुसार हाल केही बैंकहरूको सम्पत्ति तथा कर्जाको गुणस्तरसम्बन्धी परीक्षण (एसेट क्वालिटी रिभ्यु) करिब सम्पन्न हुने चरणमा पुगेको छ। यसले बैंकिङ प्रणालीलाई थप पारदर्शी र सुदृढ बनाउने विश्वास उनले व्यक्त गरे।
उनले राष्ट्रिय वाणिज्य बैंकको अवस्थाबारे उल्लेख गर्दै बैंकको स्थिति त्यति खराब नरहेको बताए। अघिल्लो वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा बैंकको खराब कर्जाको स्तर केही घटेको र यो अवस्था अत्यन्तै चिन्ताजनक नरहेको उनको भनाइ छ।
तर, अर्थमन्त्री खनालले बैंकसँग उपलब्ध पूँजीको पर्याप्त उपयोग हुन नसकेको र नयाँ लगानीका अवसरहरू खोज्न नसकिएकोतर्फ ध्यानाकर्षण गराए। सुधारका लागि अझ प्रभावकारी लगानी रणनीति र अवसर पहिचान आवश्यक रहेको उनले बताए।



