होटल फरेष्ट इनको आईपीओ आजदेखि खुला, सर्वसाधारणले आवेदन दिन सक्ने
Author
NEPSE TRADING

होटल फरेष्ट इन लिमिटेड ले आज (माघ २२ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरूका लागि निष्काशन गरिएको शेयर बाँडफाँट गरिसकेको छ।
कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये ४ लाख कित्ता वैदेशिक रोजगारमा रहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी रहेको ३३ लाख २० हजार कित्ता शेयर भने सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा निष्काशन गरिएको हो।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। निष्काशन छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गतेसम्म खुला रहनेछ।
कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
होटल परियोजनामा कुल ३ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी लगानी भएको छ। यस आयोजनाको साधारण लगानी फिर्ता अवधि १०.८६ वर्ष र डिस्काउण्टमा १५.३३ वर्ष रहेको कम्पनीले जनाएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड को ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।



