·

पुसमा मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित, खाद्य मूल्य घट्दा महँगी दबाब न्यून

Author

NEPSE TRADING

पुसमा मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित, खाद्य मूल्य घट्दा महँगी दबाब न्यून

काठमाडौँ— २०८२ साल पुस महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित भएको छ। नेपाल राष्ट्र बैंक का अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो। पछिल्लो तथ्यांकले मुलुकमा महँगीको दबाब उल्लेखनीय रूपमा कम भएको संकेत गर्दछ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक रहन पुगेको छ। गत वर्ष यही समूहको मुद्रास्फीति ७.६७ प्रतिशत रहेको थियो। खाद्य मूल्यमा आएको गिरावटले समग्र उपभोक्ता मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। यता गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.८१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ४.१९ प्रतिशतको तुलनामा केही कम हो।

आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनाको औसत मुद्रास्फीति १.७० प्रतिशतमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.९७ प्रतिशत रहेको थियो। यसले चालु आर्थिक वर्षमा मूल्य स्थिरता तुलनात्मक रूपमा मजबुत रहेको देखाउँछ।

खाद्य तथा पेय पदार्थ समूहभित्र केही उप–समूहमा भने मूल्य वृद्धि देखिएको छ। पुस महिनामा फलफूलको मूल्य ५.२० प्रतिशत, घ्यू तथा तेलको ४.९६ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ३.०४ प्रतिशतले बढेको छ। तर दाल तथा गेडागुडीको मूल्य ५.५२ प्रतिशत, मरमसलाको ३.९२ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ३.७० प्रतिशतले घटेको छ, जसले समग्र खाद्य मुद्रास्फीतिलाई ऋणात्मक बनाएको छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको मूल्य सबैभन्दा बढी २१.७५ प्रतिशतले बढेको छ। यसैगरी शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले मूल्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

भौगोलिक आधारमा हेर्दा समीक्षा महिनामा सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.५७ प्रतिशत रहेको छ भने ग्रामीण क्षेत्रमा १.९९ प्रतिशत मात्र रहेको छ। प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा बढी ३.३७ प्रतिशत मुद्रास्फीति देखिएको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम १.०८ प्रतिशत रहेको छ। बागमती प्रदेशको मुद्रास्फीति २.१० प्रतिशत र कोशी प्रदेशको ३.२५ प्रतिशत रहेको छ।

क्षेत्रगत रूपमा काठमाडौं उपत्यकाको मुद्रास्फीति २.४८ प्रतिशत, तराईको २.६५ प्रतिशत, पहाडको १.९४ प्रतिशत र हिमाली क्षेत्रको २.६६ प्रतिशत रहेको छ। यसले क्षेत्रअनुसार मूल्य दबाबमा फरक देखिएको संकेत गर्दछ।

यसैबीच, पुस महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.१७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको ४.०१ प्रतिशतभन्दा बढी हो। उपभोग्य वस्तुको थोक मुद्रास्फीति २.५८ प्रतिशत रहँदा मध्यवर्ती वस्तुको ७.०७ प्रतिशत र पुँजीगत वस्तुको २.५८ प्रतिशत रहेको छ। निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क ३.४८ प्रतिशतले बढेको छ।

तलब तथा ज्याला सूचकाङ्कतर्फ, आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्क ६.०३ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही त्रैमासमा यस्तो वृद्धि २.८५ प्रतिशत मात्र थियो। प्रदेशगत रूपमा गण्डकी प्रदेशमा सबैभन्दा बढी ९.७१ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम २.०० प्रतिशत तलब तथा ज्याला वृद्धि दर रहेको छ।

क्षेत्रीय तुलना गर्दा २०८२ पुस महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत रहँदा सन् २०२५ डिसेम्बरमा भारतको उपभोक्ता मुद्रास्फीति १.३३ प्रतिशत रहेको देखिन्छ। विश्लेषकहरूका अनुसार नेपालमा हालको मुद्रास्फीति दर दक्षिण एसियाली सन्दर्भमा नियन्त्रणयोग्य स्तरमै रहे पनि गैर–खाद्य तथा सेवा समूहको बढ्दो मूल्यले भविष्यमा चुनौती सिर्जना गर्न सक्ने संकेत गर्दछ।

Related News