·

विदेशमा रहेका नेपाली यसपटक पनि मतदानबाट वञ्चित, इन्टरनेट मतदानको माग तीव्र

Author

NEPSE TRADING

विदेशमा रहेका नेपाली यसपटक पनि मतदानबाट वञ्चित, इन्टरनेट मतदानको माग तीव्र

सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकेसँगै देशभर राजनीतिक सरगर्मी बढेको छ। राजनीतिक दलहरू प्रचार–प्रसारमा जुटिरहेका बेला चिया पसलदेखि चौतारीसम्म निर्वाचन र सम्भावित परिणामबारे छलफल हुन थालेको छ। तर, विदेशमा रहेका नेपाली नागरिक यसपटकको निर्वाचनमा पनि मतदानको अधिकारबाट वञ्चित हुने भएका छन्। सरकारले पटक–पटक उठ्ने यो विषयमा ठोस व्यवस्था गर्न नसकेको भन्दै सरोकारवालाहरूले कडा आलोचना गरेका छन्।

हरेक निर्वाचनमा विदेशमा रहेका नेपालीको मतदान अधिकारको बहस हुने गरे पनि व्यावहारिक व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन। यसैबीच, श्रमिक सञ्जाल र सामाजिक न्यायका लागि कानून तथा नीति फोरमले गरेको ‘मुलुक बाहिरबाट मतदान सम्बन्धमा नेपाली प्रवासी श्रमिकको धारणा’ शीर्षकको सर्वेक्षणले विदेशमा रहेका नेपालीहरू मतदानमा सहभागी हुन इच्छुक रहेको देखाएको छ।

सर्वेक्षण अनुसार सहभागीमध्ये ९४.१ प्रतिशतले इलेक्ट्रोनिक वा इन्टरनेट मतदानलाई समर्थन गरेका छन्। त्यस्तै, ३५.३ प्रतिशतले प्रतिनिधि (प्रोक्सी) मतदान, ४३.१ प्रतिशतले व्यक्तिगत (इन–पर्सन) मतदान र ३२.९ प्रतिशतले पोस्टल मतदानको विकल्प रोजेका छन्। कुल ४३ प्रतिशत श्रमिकले विदेशबाटै मतदान अधिकार पाए त्यसको प्रयोग गर्ने बताएका छन् भने ४१ प्रतिशतले ‘सायद’ प्रयोग गर्ने बताएका छन्।

मतदानप्रति रुचिको कारणबारे ४२.४ प्रतिशतले मातृभूमिसँगको भावनात्मक, सामाजिक तथा सूचनात्मक जोड र नेपालमा भइरहेको राजनीतिक परिवर्तनप्रति चासोलाई मुख्य कारण मानेका छन्। ४२ प्रतिशतले लोकतान्त्रिक अधिकारको संरक्षण हुनुपर्ने धारणा राखेका छन् भने ३९ प्रतिशत श्रमिक नेपालको राजनीतिक प्रक्रियामा आफ्नो योगदान दिन इच्छुक देखिएका छन्।

सर्वेक्षणले २०७९ को निर्वाचनमा युवाको सहभागिता २०७४ को तुलनामा उल्लेखनीय रूपमा बढेको देखाएको छ। २०७९ को स्थानीय तह निर्वाचनमा ५८ प्रतिशत र संघीय तथा प्रदेश निर्वाचनमा ५६.६ प्रतिशत श्रमिकको सहभागिता रहेको पाइएको छ। यद्यपि, सर्वेक्षणमा सहभागी ४१.१ प्रतिशत युवाले अहिलेसम्म कुनै पनि निर्वाचनमा सहभागिता नजनाएको बताएका छन्।

व्यावहारिक सम्भाव्यताको दृष्टिले ४३.४ प्रतिशत युवाले प्रवासी श्रमिकका लागि मतदान सम्भव रहेको विश्वास व्यक्त गरेका छन्। विदेशबाट मतदान व्यवस्था कार्यान्वयनमा कानुनी अडचन प्रमुख अवरोध भएको ४२.३ प्रतिशतको मत छ भने प्राविधिक चुनौती र जानकारी तथा सचेतनाको अभावलाई पनि प्रमुख समस्या मानिएको छ।

मध्यपूर्व र मलेसियाबाट गरी ६ हजार ४८५ नेपाली श्रमिक सहभागी भएको यस सर्वेक्षणमा अधिकांश सहभागी पुरुष रहेका छन्। उमेर समूहअनुसार २५ देखि ३८ वर्ष उमेर समूहको सहभागिता सबैभन्दा बढी देखिएको छ। प्रदेशगत रूपमा कोशी प्रदेशका श्रमिकहरूको सहभागिता अग्रस्थानमा रहेको छ।

सर्वेक्षणले विदेशमा रहेका नेपाली युवाहरूले मतदान अधिकारलाई लोकतन्त्रको अनिवार्य अंगका रूपमा दृढ समर्थन गरेको स्पष्ट देखाएको छ। तर, सरकारबाट आवश्यक कानुनी र प्राविधिक तयारी नहुँदा उनीहरू अझै मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित भइरहेका छन्।

Related News