·

हाइल्याण्ड डिष्टिलरीले बुक बिल्डिङमार्फत आईपीओ ल्याउने, माघ २८ मा वार्षिक साधारणसभा

Author

NEPSE TRADING

हाइल्याण्ड डिष्टिलरीले बुक बिल्डिङमार्फत आईपीओ ल्याउने, माघ २८ मा वार्षिक साधारणसभा

काठमाडौं । हाइल्याण्ड डिष्टिलरी लिमिटेड ले बुक बिल्डिङ प्रक्रिया प्रयोग गरी प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार पुस २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयका आधारमा माघ २८ गते बुधबार काठमाडौंको हात्तिसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा वार्षिक साधारणसभा बोलाइएको छ।

सभामा प्रचलित धितोपत्रसम्बन्धी कानुनअनुसार सर्वसाधारणलाई छुट्याइएको सेयर प्रिमियम मूल्यमा, बुक बिल्डिङ विधिमार्फत वा अंकित मूल्यमा आईपीओ निष्काशन गर्ने विषयमा निर्णय गरिने कम्पनीले जनाएको छ। यसका साथै आईपीओ जारी गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश गरिनेछ।

साधारणसभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर तथा १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावमाथि पनि छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ। यसले सेयरधनीलाई प्रतिफल वितरणसँगै कम्पनीको पूँजी संरचना थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

यसैगरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, उक्त संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने तथा गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ। चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने विषय पनि सोही सभाबाट टुंगो लगाइनेछ।

बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउने तयारीसँगै हाइल्याण्ड डिष्टिलरीले पूँजी बजारमा प्रवेश गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीको यस कदमले मदिरा उद्योग क्षेत्रमा नयाँ सूचीबद्ध कम्पनी थपिने र लगानीकर्तालाई नयाँ विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ।

Related News