प्रभु बैंकको खराब कर्जा अनुपातमा बढोत्तरी, नाफामा गिरावट
Author
NEPSE TRADING

प्रभु बैंक लिमिटेडको खराब कर्जा अनुपात ८ प्रतिशत नजिक पुगेको छ, जसले बैंकको वित्तीय दबाबमा थप वृद्धि गरेको छ। बैंकको खराब कर्जा अनुपात गत वर्षको ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको हो। यसले बैंकको सञ्चालन मुनाफा र खुद नाफा दुवैमा गिरावट ल्याएको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म, प्रभु बैंकले १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा २४.०८ प्रतिशत कम हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खराब कर्जा र इम्पेरमेन्ट चार्जको वृद्धि भए तापनि बैंकको खुद ब्याज आम्दानी २.३८ प्रतिशत र फि तथा कमिशन आम्दानी ४.५९ प्रतिशतले बढेको छ।
बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ९८ करोड ४० लाख पुगेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब ८६ करोड ७९ लाख थियो। तर, खराब कर्जा र इम्पेरमेन्ट चार्जमा भएको वृद्धि कारण बैंकको सञ्चालन मुनाफा २ अर्ब ५२ करोड २८ लाख रुपैयाँबाट घटेर १ अर्ब ९६ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ।
पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ, जसले लाभांश वितरण क्षमतामा चुनौती सिर्जना गरेको छ।
समीक्षा अवधिसम्म, बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६२ पैसा, नेटवर्थ १४६ रुपैयाँ १७ पैसा, मूल्यआम्दानी अनुपात २१.२७ गुणा, र तरलता अनुपात ३९.३१ प्रतिशत कायम रहेको छ।
बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४२.८६ प्रतिशत कमी आएको छ। निक्षेप संकलन ३ खर्ब ४० अर्ब र कर्जा प्रवाह २ खर्ब २७ अर्ब पुगेको छ।



