सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड को आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
Author
NEPSE TRADING

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड ले आज माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ आवेदन खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो। अब दोस्रो चरणमा सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ७२ हजार ४३१ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो, जसको कुल मूल्य ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ बराबर रहेको छ।
कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो, जसमध्ये स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएपछि बाँकी शेयर सर्वसाधारणका लागि खुला गरिएको हो। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन छिटोमा माघ २१ गते र ढिलोमा फागुन ३ गतेसम्म दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीले सञ्चालन गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख रुपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत करिब २१ करोड ५३ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र २६ वर्ष बाँकी रहेको छ।
यस कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।



