·

नेपालको सेयर बजारमा उछालः यात्रा कहाँसम्म ? अब किन्ने कि बेच्ने ?

Author

Nepse trading

नेपालको सेयर बजारमा उछालः यात्रा कहाँसम्म ? अब किन्ने कि बेच्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले साताको पहिलो कारोबार दिन आइतबार ठूलो छलाङ मारेको छ । सूचक ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा पुगेको छ, जुन करिब २९ सयको मनोवैज्ञानिक स्तर नजिक हो। यो वृद्धि २.६७ प्रतिशतको हो । आज १४ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो उच्च कारोबार र सूचकको वृद्धिले सेयर बजारमा ठूलो उत्साह र लगानीकर्ताहरूको सक्रियता देखिएको छ ।

आइतबारको कारोबारमा ३०२ कम्पनीको २ करोड ९१ लाख कित्ताभन्दा बढी सेयर किनबेच भएको छ। आधा दर्जन कम्पनीहरूले सकारात्मक सर्किट ब्रेकर (१०% वृद्धि) को स्तर छोएका छन्। म्युचुअल फन्ड समूहबाहेक बजारका सबै उपसमूहका सूचकहरू हरियाली देखिएका छन्। विशेषगरी उत्पादनमूलक समूहमा सबैभन्दा ठूलो वृद्धि भएको छ, जसमा सिमेन्ट कम्पनीहरूको योगदान उल्लेखनीय छ ।

कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी ९७ करोड ५३ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो । दोस्रो स्थानमा हिमालयन रिइन्सुरेन्स र तेस्रो स्थानमा सिन्धु विकास बैंक रहे । यी कम्पनीहरूको उच्च कारोबारले बजारमा ठूला लगानीकर्ताहरूको सक्रियता झल्काउँछ ।

बजार विश्लेषकहरूका अनुसार, यो वृद्धिको सबैभन्दा ठूलो विशेषता भनेको फन्डामेन्टल (आधारभूत रूपमा बलियो) कम्पनीहरूको सेयरमा लगानीकर्ताको चासो बढ्नु हो।

लामो समयदेखि सुस्त रहेका बिमा कम्पनीहरूको सेयरमा पनि आज उत्साह देखिएको छ। उदाहरणका लागि, नेपाल पुनर्बिमा र हिमालयन रिइन्सुरेन्स जस्ता कम्पनीहरूले उच्च कारोबार मात्र होइन, लगानीकर्ताको विश्वास पनि कमाएका छन् । त्यस्तै, सिमेन्ट कम्पनीहरूमा पनि कारोबार बढेको छ, जसले उत्पादनमूलक समूहलाई बलियो बनाएको छ । अन्य सेक्टरहरू जस्तै बैंकिङ, जलविद्युत् र वित्त कम्पनीहरूमा पनि सकारात्मक संकेत देखिएको छ ।

नेप्से सूचकले गत विहिबार मात्र २७८० को मुख्य सपोर्ट लेभल र २८ सयको मनोवैज्ञानिक रेखा पार गरेको थियो । यो सफलताले बजारमा नयाँ गति थपेको छ । विश्लेषकहरुका अनुसार अब नेप्सेले ३ हजारको स्तरमा पुगेर बेच्ने अवसर दिन सक्छने छ । त्यसपछि सामान्य करेक्सन भए पनि बजार सुपर बुल चरणमा प्रवेश गर्न सक्ने अनुमान कतीपयको छ । पहिले साना (लो क्याप) कम्पनीका सेयर मात्र बढ्ने गरेकोमा हाल ठूला (हाई क्याप) कम्पनीहरू, खासगरी बैंकहरूको सेयरमा वृद्धि भएको छ। यो परिवर्तनले बजारको आधार बलियो भएको संकेत गर्छ ।

दैनिक कारोबार रकम हाल १४ अर्बमाथि पुगेको छ। यदि यो औसत १५ अर्बभन्दा माथि गयो भने बजारलाई थप बल मिल्ने लगानीकर्ताहरूको विश्वास छ । आइतबारको उच्च कारोबारले यो सम्भावनालाई बलियो बनाएको छ ।

नेपालको सेयर बजार बढ्नुका पछाडि विभिन्न कारणहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन्। पहिलो, नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाले बजारमा उत्साह थपेको छ, जसअन्तर्गत असल कर्जाको प्रोभिजन दर घटाइएको छ। यसले बैंकहरूलाई सेयर धितो कर्जा दिन सहज बनाएको छ। दोस्रो, गभर्नर महाप्रसाद अधिकारीको बहिर्गमनलाई लगानीकर्ताले सकारात्मक रूपमा लिएका छन्, किनभने उनको नीतिलाई बजारमैत्री मानिएको थिएन। तेस्रो, नयाँ स्टक एक्सचेन्ज र डेरिभेटिभ्स प्रोडक्ट्स थपिने अपेक्षाले लगानीकर्ताहरूलाई थप आकर्षित गरेको छ। चौथो, बैंकहरूले सस्तो ब्याजदरमा सेयर धितो कर्जा उपलब्ध गराइरहेका छन्, जसले ठूला लगानीकर्ताहरूलाई बजारमा लगानी बढाउन प्रोत्साहित गरेको छ। पाँचौँ, बैंकिङ प्रणालीमा अधिक तरलता र मुद्दति निक्षेपमा कम ब्याजदरका कारण म्युचुअल फन्ड, बिमा कम्पनीलगायत संस्थागत लगानीकर्ताहरूले सेयर बजारमा लगानी केन्द्रित गरेका छन्। छैटौँ, अर्थतन्त्रमा सुधारका संकेतहरू देखिन थालेका छन्, जसले कम्पनीहरूको मुनाफा र लाभांश क्षमता बढ्ने अपेक्षा गरिएको छ। यी सबै कारणहरूले बजारमा माग बढाएको र आपूर्ति कम गरेको छ, जसका कारण नेप्से सूचक माथि चढेको विश्लेषण गर्न सकिन्छ ।

यसका अलावा कम्पनीहरूको मुनाफा बढ्ने र लाभांश क्षमता विस्तार हुने अपेक्षाले लगानीकर्ताहरू उत्साहित छन् । लामो समयको गिरावटले सेयरको भाउ सस्तो भएको छ, जसले अहिले लगानीको राम्रो अवसर सिर्जना गरेको विश्लेषण समेत भैरहेको छ । लगानीकर्ताहरूले बलियो वित्तीय सूचक भएका र लाभांश क्षमता राम्रा कम्पनीहरूमा केन्द्रित भएर लगानी गर्दा जोखिम कम हुने देखिन्छ । यस्तो रणनीतिले बजारको अस्थिरताबाट बच्न सहयोग गर्छ ।

प्राविधिक विश्लेषण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकको प्राविधिक चार्टले हाल बलियो बुलिश ट्रेन्ड देखाउँछ । सूचक २,८९०.२८ मा बन्द भएको छ, जुन ७५.२४ अंक (२.६७%) ले वृद्धि भएको हो, र १४.२५ अर्बको उच्च भोल्यूमले यो गतिको शक्ति पुष्टि गर्छ। चार्टमा उकालो हरियो ट्रेन्डलाइनले हाइअर हाइ र हाइअर लो जोड्छ, जसले बुलिश गति संकेत गर्छ। २,७८० को प्रमुख सपोर्ट र २,८०० को मनोवैज्ञानिक प्रतिरोध पार भइसकेको छ, जसले बजारको गति बढाएको हो। अब बजार ३ हजार २३ को लेबलमा सहजै पुग्ने अनुमान गरिएको छ । तर कतिपय विश्लेषकले भने तत्कालीन प्रतिरोध २,९०० र २,९२० वरिपरि छ, जुन ३,००० तिर पुग्न ठूलो बाधा हुन सक्ने चेतावनी दिएका छन् । क्यान्डलस्टिक पैटर्नले बलियो किनबेच दबाब देखाउँछ, र भोल्यूमले बुलिश गतिको निरन्तरता समर्थन गर्छ। प्राविधिक संकेतकले थप उकालो सम्भावना देखाउँछ, तर सावधानी अपनाउनु जरुरी भएको विज्ञले बताएका छन् ।

ब्रोकरको विश्लेषण

आजको बजार हेर्दा ठुला ब्रोकर खरिदमै व्यस्त भएको देखिन्छ । आज सबै भन्दा बढी कारोबार गर्ने १० ठूला ब्रोकरको अबस्था हेर्दा ७ बटा ब्रोकरले तुलनात्मक रुपमा बढी बाई गरेका छन् भने ३ वटा ब्रोकरले तुलनात्मक रुपमा बढी सेल गरेको देखिन्छ । आज सबै भन्दा बढी कारोबार गरेको ब्रोकर नं. ५८ ले मात्र १ अर्ब ६५ करोडको शेयर खरिद बिक्री गरेको छ । उसले आज ९४ करोड ४९ लाखको शेयर खरिद गर्दा ७० करोड ६६ लाखको शेयर बेचेको देखिन्छ । त्यस्तै, बढी कारोबार गर्ने दोस्रो नं.मा ब्रोकर नं. ४९ छ । जसले आजको बजारमा १ अर्ब ५ करोडको कारोबार गरेको छ । तर यसले बाई भन्दा बढी सेल गरेको देखिन्छ । ४९ ले आजको बजार ४६ करोडको शेयर खरिद गर्दा ५९ करोडको बिक्री गरेको छ । त्यस्तै, ४२ नं.को ब्रोकर पनि १ अर्ब माथी कारोबार गर्दै तेस्रो नं.मा परेको छ । यसले आजको बजारमा ५३ करोड २४ लाखको शेयर बाई गर्दा ५१ करोड ८९ लाखको शेयर विक्री गरेको छ । त्यस्तै, ३४ नं.को ब्रोकरले ९७ करोडको कारोबार गर्दा ५१ करोड ९० लाखको बाई र ४५ कारोड २० लाखको सेल गरेको देखिन्छ । त्यस्तै, ४५ नं.को ब्रोकर ५२ करोड ७२ लाखका बाई गर्दा गर्दा ४१ करोड ३६ लाखको सेल गरेको छ । त्यस्तै आजको बजारमा ५५, ५६, २८, ४८ र ३३ ले पनि सेलको तुलनामा बाई बढी गरेको देखिन्छ ।

ब्रोकरको गतिविधि

आजको बजारमा ब्रोकरहरुले स्टक अनुसार गरेको गतिविधि हेर्र्दा नेपाल रि एन्स्योरेन्स ५५ नं.को ब्रोकरले कुल बाईको ३३ प्रतिशत एक्लैले किनेको देखिन्छ । त्यस्तै, सिन्धु विकाश बैंक ७२ ले कुल बाईको साढे ६३ प्रतिशत उठाएको छ । त्यस्तै ङ्यादी ग्रुप पावर ४४ नं.को ब्रोकरले कुल बाईको करीब ३८ प्रतिशत खरिद गरेको छ । त्यस्तै, ङ्यादी ग्रुप पावर ४४ नं. को ब्रोकरले नै आजको बजारमा करिव साढे ४८ प्रतिशत फालेको देखिन्छ । यसलाई म्याचिङ कारोबारको रुपमा लिइएको छ । त्यस्तै, आज माछापूच्रे बैंक ४९ ले करीक ६१ प्रतिशत फालेको छ । त्यस्तै, घोराहि सिमेन्ट ६ नं.को ब्रोकरले ३९ प्रतिशत फालेको छ । त्यस्तै, एन एल जी एन्स्योरेन्स ५५ नंको ब्रोकरले ७२ प्रतिशत बेचेको देखिन्छ ।

Related News