चार महिनामा १० फाइनान्स कम्पनी घाटामा, ७ ले कमाए १७ करोड नाफा
Author
NEPSE TRADING

चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चार महिनामा फाइनान्स कम्पनीहरूको वित्तीय अवस्था मिश्रित देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार १७ वटा फाइनान्स कम्पनीमध्ये १० वटा कम्पनी घाटामा रहेका छन् भने ७ वटा कम्पनीले खुद नाफा आर्जन गरेका छन् । घाटामा रहेका कम्पनीहरूले कुल ४५ करोड १६ लाख रुपैयाँ बराबरको घाटा व्यहोरेका छन् ।
सबैभन्दा धेरै घाटा व्यहोर्ने कम्पनीमा रिलायन्स फाइनान्स अग्रस्थानमा रहेको छ । कम्पनी चार महिनामा १८ करोड १९ लाख रुपैयाँ घाटामा पुगेको छ । त्यसपछि पोखरा फाइनान्सले ६ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ भने नेपाल फाइनान्स ५ करोड ४० लाख रुपैयाँ घाटामा रहेको छ । बेस्ट फाइनान्सको घाटा ५ करोड २७ लाख रुपैयाँ पुगेको छ भने समृद्धि फाइनान्स ४ करोड ३० लाख रुपैयाँ घाटामा रहेको देखिन्छ ।
यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले २ करोड ६९ लाख रुपैयाँ घाटा व्यहोर्दा प्रोग्रेसिभ फाइनान्स २ करोड ३१ लाख रुपैयाँ घाटामा रहेको छ । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २० लाख रुपैयाँ, नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स १८ लाख रुपैयाँ तथा जानकी फाइनान्स १२ लाख रुपैयाँ घाटामा रहेका छन् ।
यता, ७ वटा फाइनान्स कम्पनीले भने चार महिनामा कुल १७ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन् । नाफा आर्जन गर्ने कम्पनीहरूको सूचीमा गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, मन्जुश्री फाइनान्स, सेन्ट्रल फाइनान्स, मल्टीपर्पज फाइनान्स, गुर्खाज फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स रहेका छन् ।
सबैभन्दा धेरै नाफा कमाउनेमा गुडविल फाइनान्स अगाडि देखिएको छ । कम्पनीले चार महिनामा ५ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आईसीएफसी फाइनान्सले ४ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ भने मन्जुश्री फाइनान्सको नाफा २ करोड ३५ लाख रुपैयाँ पुगेको छ । सेन्ट्रल फाइनान्सले २ करोड ११ लाख, मल्टीपर्पज फाइनान्सले १ करोड ७० लाख, गुर्खाज फाइनान्सले १ करोड २० लाख तथा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
चार महिनाको तथ्यांकले फाइनान्स कम्पनीहरूबीच वित्तीय प्रदर्शनमा ठूलो असमानता देखिएको संकेत गर्छ । बढ्दो खराब कर्जा, लगानी सुस्तता र उच्च सञ्चालन खर्चका कारण केही फाइनान्स कम्पनीहरू दबाबमा देखिँदा, सुदृढ व्यवस्थापन र सीमित जोखिम लिएका कम्पनीहरूले भने नाफा कायम राख्न सफल भएका छन् ।



