चालु आर्थिक वर्षको दश महिनामा बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब भन्दा धेरै नाफा कमाए
Author
NEPSE trading

चालु आर्थिक वर्षको बैंशाख महिनासम्ममा नेपालका बैंक तथा वित्तीय संस्थाहरूले ५३ अर्ब भन्दा धेरै खुद नाफा गरेका छन्। कर्जा असुलीमा कठोर भएका बैंक तथा वित्तीय संस्थाहरूले नाफा समेत बढाउन सफल भएका हुन्।
चालु आर्थिक वर्षको बैंशाख महिनासम्ममा बैंक तथा वित्तीय संस्थाको खुद नाफा ५३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ, जुन गत चैत महिनाको तुलनामा १९.०८ प्रतिशतले बढी हो। चालु आवको चैतसम्ममा बैंक तथा वित्तीय संस्थाको खुद नाफा ४४ अर्ब ६७ करोड रुपैयाँ थियो।
पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी भन्दा पनि असुलीमा ध्यान दिए। कोरोना महामारी तथा आर्थिक मन्दीका कारण बढेको कर्जा ‘डिफल्ट’ ले बैंक तथा वित्तीय संस्थालाई कर्जा लगानी बढाउन भन्दा पनि विगतको कर्जा असुली गर्न दबाब पर्यो। कर्जाको डिफल्ट बढेसँगै नोक्सानी व्यवस्थालाइ धेरै रकम छुट्याउनु पर्यो, जसले गर्दा बैंकहरुको नाफामा असर पर्यो।
त्यसैगरी, नयाँ कर्जा लगानी बढ्न नसक्दा बैंकहरूको आम्दानीमा पनि असर गर्यो, जसले गर्दा नाफा निरन्तर घट्दो क्रममा थियो। विगतमा गरिएको अधिक कर्जा लगानीका कारण पुँजीकोषमा परेको दबाबले पनि बैंकहरूलाई कर्जा थप विस्तार गर्न असहज भएको थियो। त्यसपछि बैंकहरूले पुरानो कर्जा घटाउने, कर्जा नोक्सानी फिर्ता लिने, डिफल्ट कर्जालाई असुली गर्ने क्रमलाई बढाएपछि बैंशाख महिनाको नाफामा केही सुधार आएको हो।
बैंशाख महिनामा बैंकहरूको नाफा चैतको तुलनामा बढेको भए पनि गत आवको सोही अवधिको तुलनामा १५.०३ प्रतिशतले घटेको छ। गत आवको बैंशाखसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले ६२ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेका थिए।
चालु आवको बैंशाखसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको जोखिम व्यवस्थापनबाट फिर्ता रकम, ब्याज आम्दानी, विदेशी विनिमयको कारोबारबाट हुने आम्दानी लगायतका आम्दानीमा सुधार आएको छ। सो अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा नोक्सानी व्यवस्थापनबाट फिर्ता गरेको रकम मात्रै ३२ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। गत आवको सोही अवधिमा यस्तो फिर्ता रकम १७ अर्ब २३ करोड रुपैयाँ मात्रै थियो।
चालु आवको बैंशाखसम्ममा वाणिज्य बैंकहरूको खुद नाफा ४८ अर्ब ६० करोड रुपैयाँ रहेको छ, जुन गत चैतको तुलनामा १९.४८ प्रतिशतले बढी हो। गत चैतमा वाणिज्य बैंकहरूको खुद नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो। वाणिज्य बैंकहरूको नाफा चैतको तुलनामा बैंशाखमा बढेको भए पनि गत आवको सोही अवधिसँग तुलना गर्दा घटेको छ। गत आवको बैंशाखमा वाणिज्य बैंकहरूको खुद नाफा ५७ अर्ब १६ करोड रुपैयाँ थियो।
त्यसैगरी चालु आवको बैंशाखसम्ममा विकास बैंकहरूको खुद नाफा ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ, जुन गत चैतको तुलनामा १४.१ प्रतिशतले बढी हो। गत चैतमा विकास बैंकहरूको खुद नाफा ३ अर्ब ६५ करोड थियो। विकास बैंकहरूको नाफा पनि चैतको तुलनामा बैंशाखमा बढेको भए पनि गत आवको सोही अवधिलाई हेर्दा घटेको छ। गत आवको बैंशाखमा विकास बैंकहरूले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा गरेका थिए।
चालु आवको बैंशाखसम्ममा फाइनान्स कम्पनीहरूको खुद नाफा ४१ करोड ५० लाख रुपैयाँ छ, जुन गत चैतको तुलनामा २४.९९ प्रतिशतले बढी हो। गत चैतमा फाइनान्स कम्पनीहरूको खुद नाफा ३३ करोड २० लाख रुपैयाँ थियो। फाइनान्सहरूको बैंशाखसम्मको खुद नाफा गत आवको सोही अवधिको तुलनामा भने घटेको छ। गत आवको बैंशाखमा फाइनान्स कम्पनीहरूको खुद नाफा १ अर्ब १४ करोड रुपैयाँ थियो।
विश्लेषण:
यो तथ्यांकले बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीमा ध्यान दिएको देखाउँछ, जसले गर्दा नाफा बढाउन मद्दत गरेको छ। कोरोना महामारी र आर्थिक मन्दीका कारण कर्जा डिफल्ट बढेपछि बैंकहरूले पुरानो कर्जा असुलीमा ध्यान दिएका थिए।
यो प्रक्रिया सफल भएको देखिन्छ किनकि बैंशाखमा नाफा चैतको तुलनामा बढेको छ। तर, गत वर्षको सोही अवधिको तुलनामा नाफा अझै घटिरहेको छ, जसले गर्दा अझै सुधारको आवश्यकता देखाउँछ।
बैंकहरूले जोखिम व्यवस्थापनमा सुधार गर्दै कर्जा असुलीलाई प्राथमिकता दिएका छन्, जसले गर्दा वर्तमान आर्थिक अवस्था सम्हाल्न मद्दत गरेको छ। अब बैंकहरूले नयाँ कर्जा लगानीमा पनि ध्यान दिनुपर्छ, ताकि दीर्घकालीन स्थायित्व र नाफा सुनिश्चित गर्न सकियोस्।