बरुण हाइड्रोपावरको १:१ हकप्रद शेयर बिक्री खुला, साउन १९ सम्म आवेदन दिन सकिने
Author
Nepse Trading

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले आज असार ३१ गतेदेखि १:१ अनुपातमा हकप्रद शेयर निष्कासन खुला गरेको छ। कम्पनीले हाल कायम १ कित्ता बराबर १ कित्ता दरले, प्रतिकित्ता १०० रुपैयाँमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर जारी गर्दैछ। यसका लागि जेठ २२ गते बुकक्लोज गरिएको थियो, जसअनुसार जेठ २१ गतेसम्म कायम शेयरधनीले साउन १९ गतेभित्र आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात यो पूँजी दोब्बर भई १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ, जसले कम्पनीको वित्तीय आधार अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
हकप्रद निष्कासनको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले आरबिबिसहित राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा तथा सि-आस्बा सेवा उपलब्ध बैंक तथा वित्तीय संस्थाबाट वा ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। संकलित रकममध्ये १ करोड ५८ लाख रुपैयाँ हेवाखोला जलविद्युत आयोजना पुनर्निर्माणमा र ५२ करोड रुपैयाँ जलशक्ति हाइड्रो कम्पनीमा लगानी गरिनेछ।