डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सम्झौता, पाँच वर्षभित्र १०६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य
Author
NEPSE TRADING

डोल्पास्थित १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। प्रवर्द्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड र जेसीई/एएनके जेभीबीच १२ अर्ब १८ करोड रुपैयाँ बराबरको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्त्वपूर्ण मानिएको आयोजनाले थप गति लिने भएको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार प्रवर्द्धक कम्पनीले २०८१ जेठ २० गते सिभिल तथा हाइड्रोमेकानिकल संरचना निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो। सम्झौताअनुसार आयोजनामा नबिल बैंकले ४ अर्ब ४० करोड रुपैयाँ लगानी गर्नेछ भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र कर्मचारी सञ्चय कोषले समान ४/४ अर्ब रुपैयाँ लगानी गर्नेछन्।
त्यस्तै, लक्ष्मी सनराइज बैंकले २ अर्ब रुपैयाँ र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने छन्। कुल २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ स्वपूँजीबाट जुटाइनेछ।
सम्झौताअनुसार निर्माण सुरू भएको पाँच वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ, जसले कर्णाली प्रदेशको ऊर्जा विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।