·

बैंक तथा वित्तीय संस्थामा निक्षेप १२.६ प्रतिशतले बढ्यो

Author

NEPSE TRADING

बैंक तथा वित्तीय संस्थामा निक्षेप १२.६ प्रतिशतले बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.६ प्रतिशत (रु. ८११ अर्ब ४९ करोड) ले बढेको छ। अघिल्लो वर्ष यस्तै निक्षेप वृद्धि १३ प्रतिशत (रु. ७४२ अर्ब ३७ करोड) थियो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वृद्धि स्थिर तर हल्का गिरावटसहितको दरमा देखिएको हो।

२०७८ देखि २०८२ असार मसान्तसम्मको निक्षेप संरचनाको प्रवृत्ति हेर्दा चल्ती निक्षेपमा कमी, बचत निक्षेपमा वृद्धि र मुद्दती निक्षेपमा उतारचढाव देखिएको छ। चालु वर्षको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती निक्षेप ७.१ प्रतिशत, बचत निक्षेप ३६.८ प्रतिशत र मुद्दती निक्षेप ४८.३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्ता अंश क्रमशः ५.८ प्रतिशत, ३०.३ प्रतिशत र ५६.४ प्रतिशत थिए।

यस्तै, २०८२ असार मसान्तसम्म संस्थागत निक्षेपको अंश कुल निक्षेपमा ३६.१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ३६.२ प्रतिशत भन्दा न्यून मात्र कम हो।

विश्लेषकहरूका अनुसार, बचत निक्षेपको हिस्सा उल्लेख्य रूपमा बढ्नु र मुद्दती निक्षेपको हिस्सा घट्नु बैंकिङ क्षेत्रमा तरलता व्यवस्थापनको प्राथमिकतासँग प्रत्यक्ष जोडिएको देखिन्छ। यसले भविष्यमा ब्याजदर र ऋण प्रवाहमा समेत असर पार्ने अपेक्षा गरिएको छ।

Related News