·

देउराली जनता फर्मास्युटिकल्सको नाफा २ अर्ब ३५ करोड रुपैयाँ पुग्यो

Author

NEPSE TRADING

देउराली जनता फर्मास्युटिकल्सको नाफा २ अर्ब ३५ करोड रुपैयाँ पुग्यो

औषधि उत्पादनको क्षेत्रमा करिब साढे तीन दशकदेखि सक्रिय देउराली जनता फर्मास्युटिकल्स प्रालीले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कम्पनीको नाफा पछिल्ला वर्षहरूमा निरन्तर बढ्दो क्रममा रहेको देखिएको छ।

प्रतिवेदनका अनुसार कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब २ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो। त्यसअगाडि २०७९/८० मा १ अर्ब ८६ करोड ४० लाख रुपैयाँ र २०७८/७९ मा १ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको थियो। यसले कम्पनीको व्यवसायिक वृद्धि र वित्तीय सुदृढीकरणलाई स्पष्ट संकेत गर्ने इक्रा नेपालको निष्कर्ष छ।

सन् १९९१ मा स्थापना भएको देउराली जनता फर्मास्युटिकल्सले मुटुरोग, मधुमेह, स्त्री तथा शिशु स्वास्थ्य, कलेजो रोग, छाला रोगलगायतका विभिन्न क्षेत्रमा प्रयोग हुने २५० भन्दा बढी प्रकारका सामान्य तथा विशिष्टीकृत औषधि उत्पादन गर्दै आएको छ। कम्पनीको उत्पादन पोर्टफोलियो र उपचारात्मक क्षेत्रको व्यापकता यसका मुख्य बलिया पक्षका रूपमा उल्लेख गरिएको छ।

कम्पनीको सेयर स्वामित्व मुख्य रूपमा कार्यकारी निर्देशक तथा अध्यक्ष हरि भक्त शर्माको रहेको छ। शर्मा करिब ७१ प्रतिशत सेयरका धनी छन् भने बाँकी सेयर उनका परिवारका सदस्य तथा निकट सहयोगीहरूको स्वामित्वमा रहेको छ।

इक्रा नेपालको प्रतिवेदनअनुसार जुलाई २०२५ मध्यसम्म कम्पनीको लो गियरिङ ०.३ गुणा र कुल बाह्य दायित्व र वास्तविक नेट वर्थ अनुपात ०.७ गुणा रहेको छ। कभरिज सूचकहरू पनि सुदृढ देखिएका छन्, जसले कम्पनीको ऋण तिर्ने क्षमता बलियो रहेको संकेत गर्छ।

कम्पनीको वित्तीय अवस्थालाई वर्षौंदेखि अपनाइँदै आएको नियन्त्रित लाभांश नीति र त्यसबाट सिर्जित आन्तरिक संचित लाभले समर्थन गरेको छ। यसले नियमित नगद प्रवाह सुनिश्चित गर्नुका साथै वृद्धि सम्भावना र आवश्यक पूँजी खर्चलाई सन्तुलित रूपमा व्यवस्थापन गर्न मद्दत पुर्‍याएको इक्रा नेपालको विश्लेषण छ।

यस्तै, पर्याप्त तरलता स्थिति, पर्याप्त ड्रइङ पावरको हेडरूम, र २०० भन्दा बढी वितरकहरूसँगको स्थापित आपूर्ति श्रृंखलाले भविष्यमा आम्दानी वृद्धिलाई निरन्तरता दिने आधार तयार पारेको प्रतिवेदनले उल्लेख गरेको छ। इक्रा नेपालका अनुसार यी सबै पक्षले कम्पनीको दीर्घकालीन स्थायित्व र वित्तीय स्वास्थ्यलाई सकारात्मक बनाउने देखिन्छ।

Related News