वित्तीय प्रणालीमा तरलताको चाप यथावत, राष्ट्र बैंक आज फेरि २५ अर्ब निक्षेप संकलन गर्दै
Author
NEPSE TRADING

मुलुकको वित्तीय प्रणालीमा अधिक तरलताको चाप यथावत रहँदा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष सुरु भएयता मात्र २ खर्ब ४२ अर्ब ५० करोड रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ। राष्ट्र बैंकले आज फेरि थप २५ अर्ब रुपैयाँ प्रणालीबाट निकाल्ने भएको छ।
बैंक तथा वित्तीय संस्थामा थुप्रिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले लगातार निक्षेप संकलन गरिरहेको छ। यसपटक २५ दिनको अवधिका लागि २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागिएको हो। यो साउन महिनामा मात्र सातौं पटक तरलता प्रशोचनको प्रक्रिया हो।
राष्ट्र बैंकका अनुसार अनलाइन बिडिङ प्रणालीमार्फत आज दिउँसो ३ बजे बोलकबोल हुनेछ र आजै निक्षेप खरिद गरिनेछ। इच्छुक आवेदकले न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँका गुणांकमा आवेदन दिन सक्नेछन्। निक्षेपको सावाँ र ब्याज भुक्तानी भदौ २२ गते हुनेछ।
यसअघि साउन ४ गते ५० अर्ब, साउन ७ गते ७८ अर्ब २५ करोड, साउन ११ गते ४१ अर्ब १० करोड, साउन १४ गते ७ अर्ब ६५ करोड, साउन १८ गते ५० अर्ब र साउन २१ गते १५ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन मार्फत प्रशोचन गरिएको थियो। यसरी साउन लागेपछि मात्र २ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत प्रणालीबाट निकालिएको छ। राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा (SDF) मार्फत पनि नियमित रूपमा तरलता व्यवस्थापन गर्दै आएको छ।
लामो समयदेखि बैंकिङ प्रणालीमा अतिरिक्त तरलता रहँदै आएको छ। ब्याजदर लगातार घटेपनि कर्जा प्रवाह सुस्त हुँदा राष्ट्र बैंकले पटक–पटक प्रणालीबाट पैसा तानेर तरलता सन्तुलन गर्ने प्रयास गरिरहेको छ।
