वैदेशिक सहायता घट्दै, सरकारले राखेको लक्ष्यभन्दा आधाभन्दा कम मात्र प्राप्त
Author
NEPSE TRADING

पछिल्लो समय नेपालमा वैदेशिक सहायता आगमनको गति सुस्ताएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सरकारले ५२ अर्ब ३३ करोड रुपैयाँ अनुदान पाउने लक्ष्य राखे पनि जम्मा २३ अर्ब ५३ करोड मात्र हात परेको छ, जुन लक्ष्यको ३२.६२ प्रतिशतमा सीमित छ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि लक्ष्यअनुसार अनुदान प्राप्ति कमजोर रह्यो। त्यतिबेला ४९ अर्ब ९४ करोड लक्ष्य राखिए पनि २४ अर्ब मात्र प्राप्त भएको थियो, जुन लक्ष्यको ४९.०८ प्रतिशत थियो। यो वर्ष अघिल्लो वर्षको तुलनामा अनुदान प्राप्ति २.०४ प्रतिशतले घटेको मन्त्रालयको तथ्यांकले देखाउँछ।
अनुदान मात्र होइन, ऋणतर्फ पनि सरकार लक्ष्यमा पुग्न सकेन। २०८१/८२ मा २ खर्ब १७ अर्ब ऋण लिने लक्ष्य राखिए पनि १ खर्ब २५ अर्ब ४० करोड मात्र उपलब्ध भयो, जुन लक्ष्यको ५७.७८ प्रतिशत हो। अघिल्लो वर्षमा भने २ खर्ब १२ अर्बको लक्ष्य राख्दा १ खर्ब २५ अर्ब ६६ करोड प्राप्त भएको थियो, जुन लक्ष्यको ५९.०७ प्रतिशत थियो। यसरी वैदेशिक ऋण पनि ०.२१ प्रतिशतले घटेको देखिएको छ।
कुल वैदेशिक सहायतातर्फ २०८१/८२ मा २ खर्ब ६९ अर्बको लक्ष्य राखिएकोमा १ खर्ब ४८ अर्ब मात्र प्राप्त भयो, जसको प्राप्ति दर ५५.१५ प्रतिशत रह्यो। अघिल्लो आवमा यो दर ५६.९८ प्रतिशत थियो। यस आधारमा कुल वैदेशिक सहायता पनि ०.४९ प्रतिशतले घटेको छ।