कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सीईओ राजेन्द्रवीर राय पक्राउ, अपचलन प्रकरणमा अनुसन्धान तीव्र
Author
NEPSE trading

नेपालगञ्ज – झण्डै पाँच अर्ब रुपैयाँ बराबरको अपचलन प्रकरणमा संलग्न ठहरिएका कर्णाली डेभलपमेन्ट बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार रायलाई शनिबार नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको हो। केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को टोलीले सीमामा निगरानीका क्रममा उनलाई पक्रेको पुष्टि गरेको छ।
सल्यान स्थायी घर भएका राय पछिल्लो समय बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मा बसोबास गर्दै आएका थिए। उनी २०७६ देखि २०७९ सम्म बैंकको सीईओको जिम्मेवारीमा थिए। कर्णाली डेभलपमेन्ट बैंक सन् २०६० सालमा स्थापना भएको हो।
बैंकको आन्तरिक लेखापरीक्षण तथा अनुसन्धानमा रायसहित बैंकका पूर्व अधिकारीहरू– वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी, पूर्व सीईओ दिनेशकुमार रावत र निरजविक्रम शाहसमेत ठूलो रकमको अनियमिततामा संलग्न भएको प्रारम्भिक संकेत भेटिएको बताइएको छ।
सोही अपचलन प्रकरण सार्वजनिक भएपछि राय सम्पर्कविहीन बनेका थिए। लामो समयदेखि फरार रहेका उनलाई अब कानुनी प्रक्रियाअनुसार बाँकेमा ल्याएर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
हाल बैंकको संचालन नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा रहेको छ। वित्तीय अनुशासन र पारदर्शितामा प्रश्न उठाउने यो घटनाले नियामक निकाय र बैंकिङ क्षेत्रमा सुधारको आवश्यकता देखाएको विश्लेषकहरूले बताएका छन्।