₹३,१७५ बाट २० मिनेटमै ₹१७५ करोड : गजानन राजगुरु–कोटक सेक्युरिटिज प्रकरणले भारतीय सेयर बजार हल्लायो
Author
Rajan Subedi

By, Rajan Subedi
भारतको सेयर बजारमा सन् २०२२ मा भएको एउटा असाधारण घटनाले खुद्रा लगानीकर्ता र ठूला ब्रोकरेज कम्पनीबीचको शक्ति सन्तुलनमाथि गम्भीर प्रश्न उठाएको छ। फ्युचर्स एण्ड अप्सन (F&O) सेग्मेन्टमा भएको यो प्रकरण कुनै अफवाह नभई अदालतबाट फैसला भइसकेको वास्तविक घटना हो, जसमा खुद्रा व्यापारी Gajanan Rajguruले ठूला ब्रोकरेज कम्पनी Kotak Securitiesविरुद्ध ऐतिहासिक जित हासिल गरेका छन्।
घटनाको सुरुवात सामान्य थियो। राजगुरुको ट्रेडिङ खातामा जम्मा उपलब्ध रकम जम्मा ₹३,१७५ मात्र थियो। न त अतिरिक्त फन्ड थियो, न मार्जिन, न कुनै प्रकारको कोल्याटेरल। तर अचानक कोटक सेक्युरिटिजको सिस्टममा आएको प्राविधिक त्रुटि (technical glitch) का कारण राजगुरुको खातामा करिब ₹४० करोडको ट्रेडिङ लिमिट सक्रिय भयो। यो लिमिट राजगुरुले मागेका थिएनन्, न त यसको जानकारी नै थियो—यो पूर्ण रूपमा ब्रोकरेज कम्पनीको गल्ती थियो।
त्यही गल्तीलाई कोटक सेक्युरिटिजले अझ गम्भीर बनायो। कम्पनीले उक्त लिमिटलाई कोल्याटेरल सरह मानेर राजगुरुलाई F&O सेग्मेन्टमा कारोबार गर्न अनुमति दियो। जबकि कुनै पनि खुद्रा लगानीकर्तालाई बिना मार्जिन र बिना पर्याप्त पूँजी डेरिभेटिभ्समा कारोबार गर्न दिनु SEBIका नियमहरूको प्रत्यक्ष उल्लङ्घन हो।
कारोबार सुरु भएपछि बजार सुरुमा राजगुरुको अनुमानको विपरीत दिशामा गयो। केही समयमै खातामा ₹९२ करोडसम्मको कागजी घाटा देखिन थाल्यो भने छोटो अवधिमै ₹५४ लाख घाटा देखियो। यदि यही अवस्थामा कारोबार बन्द भएको भए, कोटक सेक्युरिटिजले त्यो घाटा राजगुरुबाट असुल्न कुनै हिचकिचाहट नगर्ने अवस्था स्पष्ट थियो।
तर घटनाले अप्रत्याशित मोड लियो। केही समयमै बजार अचानक उल्टियो र राजगुरुको पक्षमा गयो। मात्र २० मिनेटको अन्तरालभित्र कारोबार अत्यधिक नाफामा गयो र कुल नाफा ₹१७५ करोड पुगेको देखियो। यस अवस्थामा राजगुरुले लोभ नगरी तुरुन्तै सबै पोजिसन बन्द गरे र नाफा बुक गरे।
यहीँबाट विवाद सुरु भयो। कोटक सेक्युरिटिजले उक्त नाफा दिन अस्वीकार गर्दै भन्यो—“यो कारोबार गल्तीले दिइएको लिमिटका आधारमा भएको हो, त्यसैले नाफा मान्य हुँदैन।” तर यही कम्पनी, यदि कारोबार घाटामा सकिएको भए, घाटा भने राजगुरुबाट असुल्न तयार थियो। यही दोहोरो मापदण्डविरुद्ध राजगुरु अदालत पुगे।
अदालतमा राजगुरुको तर्क सरल तर बलियो थियो—“यदि घाटा भएको भए ब्रोकरेजले स्वीकार्थ्यो भने नाफा भएको कारण मात्र अस्वीकार गर्न मिल्दैन।” अदालतले पनि यही तर्कलाई मान्यता दियो। फैसलामा अदालतले ब्रोकरेजको सिस्टम त्रुटि व्यापारीको गल्ती नभएको, कारोबार कानुनी रूपमा सम्पन्न भएको र घाटा भएजस्तै नाफा पनि दिनैपर्ने स्पष्ट गरेको छ।
अदालतको निर्णय राजगुरुको पक्षमा गयो र कोटक सेक्युरिटिजलाई पूरै ₹१७५ करोड नाफा भुक्तानी गर्न आदेश दिइयो। यो फैसला भारतीय सेयर बजारमा ऐतिहासिक मानिएको छ, किनकि यसले ब्रोकरेज कम्पनीको गल्तीको जिम्मेवारी खुद्रा लगानीकर्तामाथि थोपर्न नमिल्ने स्पष्ट सन्देश दिएको छ।
यो प्रकरणले नेपाललगायत अन्य मुलुकका सेयर बजारका लगानीकर्तालाई पनि महत्वपूर्ण पाठ दिन्छ। ब्रोकरेजको गल्तीमा गरिएको कारोबारमा जोखिम त हुन्छ, तर कानुनी रूपमा व्यापारी पूर्ण रूपमा असुरक्षित हुँदैन। सही कागजात, प्रमाण र कानुनी लडाइँ लड्न सक्ने साहस भए खुद्रा लगानीकर्ताले पनि ठूला संस्थाविरुद्ध न्याय पाउन सक्छन् भन्ने यो घटनाले देखाएको छ।



