कर तिर्ने समय एक महिना थपियो
Author
NEPSE TRADING

काठमाडौं । सरकारले कर तिर्ने समयसीमा एक महिना थप गरेको छ। आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालका अनुसार, भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने साउन महिनाको कर अब एक महिना पछि बुझाउन सकिने भएको हो।
“कर तिर्ने समय एक महिना थप्ने निर्णय भइसकेको छ। यसबारेको सूचना छिट्टै राजपत्रमा प्रकाशित हुनेछ,” दाहालले जानकारी दिए।
विद्यमान कानुनअनुसार मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशूल्कलगायत कर प्रत्येक महिनाको २५ गतेभित्र कर कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ। तर यसपटकको जेन–जी आन्दोलन र पछिल्ला राजनीतिक घटनाक्रमका कारण उद्योगी–व्यवसायीहरूले समयमै कर बुझाउन नसकेको भन्दै सरकारसँग समय थप गर्न आग्रह गरेका थिए।
मंगलबार दिउँसो निजी क्षेत्रसँगको भेटमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कर तिर्ने समय एक महिना थप्ने आश्वासन दिएका थिए। साथै, आन्दोलनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रका सम्पत्तिमा भएको क्षतिको पुनर्निर्माणका लागि छुट्टै कोष खडा गर्ने पनि उनले जानकारी दिएका छन्।