इजरायल–इरान तनावले तेल मूल्य आकाशिँदा विश्व बजारमा तरंग, नेपालसमेत महँगीको मारमा पर्न सक्ने चिन्ता
Author
NEPSE TRADING

इजरायलले इरानमाथि गरेको आक्रमण र त्यसपछिको इरानको प्रतिक्रियाले विश्वव्यापी वित्तीय बजारमा व्यापक हलचल ल्याएको छ। युद्ध तत्काल रोकिने संकेत नदेखिएपछि आइतबार खाडी मुलुकसहितका केही देशका शेयर बजारमा ठूलो गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ।
बीबीसीका अनुसार, इजरायलले शुक्रबार बिहान इरानको आणविक केन्द्रमा आक्रमण गरेपछि तेलको मूल्यमा एकाएक उछाल आएको थियो। केही कम्पनीहरूले प्रति ब्यारेल १० प्रतिशतभन्दा बढीले मूल्य वृद्धि गरेका थिए। इरान र इजरायलबीचको युद्धले इरानी तेल आपूर्तिमा अवरोध आउने आशंकाले बजारमा मूल्य चुलिएको हो।
युद्धको आशंकाले मात्र नभई, इन्धन मूल्यवृद्धिले खाद्यान्नदेखि यातायातसम्मका लागत बढाउने त्रास फैलिएको छ। बीबीसीले जनाएको छ कि पछिल्लो मिसाइल र ड्रोन आक्रमणपछि केही समयका लागि कच्चा तेलको मूल्य घटेपनि अहिलेको मूल्य अझै पनि एक महिनाअघिको तुलनामा १० अमेरिकी डलरले बढी छ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ७८ डलर पुगेको थियो। हाल यो घटेर करिब ७४.५० डलरमा झरेको छ तर अझै उच्च दरमै कायम छ। तीन वर्षअघि रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वव्यापी तेल मूल्य र महँगी बढेको जस्तै परिस्थिति दोहोरिने खतरा देखिएको छ।
इरान ओपेक (OPEC) राष्ट्र हो, जसले दैनिक झन्डै ३३ लाख ब्यारेल तेल उत्पादन गर्छ र २० लाख ब्यारेलभन्दा बढी निर्यात गर्छ। यस्तोमा इरानको तेल पूर्वाधारमा आक्रमण भएमा विश्वव्यापी आपूर्तिमा असर पर्नेछ। यसले नेपालजस्ता पूर्णरूपमा इन्धन आयातमा निर्भर मुलुकलाई पनि प्रत्यक्ष असर पार्न सक्ने रोयर्टसको विश्लेषण छ।
इजरायली अधिकारीहरूले इरानको तेल पूर्वाधारमाथि सम्भावित आक्रमणबारे चेतावनी दिइरहेका छन्। यदि यस्तो भयो भने पेट्रोलियम मूल्य अझ चुलिनेछ र त्यसको असर खाद्यान्नदेखि सार्वजनिक यातायातसम्म व्यापक देखिनेछ।
विकसित राष्ट्रहरू मात्र होइन, विकासोन्मुख मुलुकहरूलाई समेत गहिरो असर पार्ने यस तनावको दीर्घकालीन प्रभाव रोक्नका लागि विश्व समुदायले कूटनीतिक पहल आवश्यक देखिएको छ।