जेपी ग्रुपको अन्तिम कम्पनी पनि डुब्ने स्थितिमा: व्यापारिक साम्राज्यको पतन
Author
NEPSE trading
जेपी ग्रुपका स्वर्णिम दिनहरू
कुनै समय द्रुतमार्ग, राजमार्ग, हाइराइज बिल्डिङ, अस्पताल र रियल इस्टेट विकासकर्ताका रूपमा प्रभूत्व जमाएको भारतको जेपी ग्रुप अहिले आफ्नो अन्तिम कम्पनी पनि डुब्ने स्थितिमा पुगेको छ। यो कथा हो जयप्रकाश समूह अर्थात् जेपी ग्रुपको।
जेपी हेल्थकेयरको पतन
जेपी ग्रुपको अन्तिम मूल्यवान कम्पनी, जेपी हेल्थकेयर, अहिले टाट पल्टिने अवस्थामा पुगेको छ। इकोनोमिक टाइम्सको रिपोर्टका अनुसार देशका धेरै ठूला कम्पनीहरूले जेपी हेल्थकेयर किन्न चासो देखाइरहेका छन्, जसमा फोर्टिस हेल्थकेयर, अपोलो अस्पताल, मेदान्ता र म्याक्स हेल्थकेयर जस्ता ठूला खेलाडीहरू समावेश छन्।
राष्ट्रिय कम्पनी कानुन न्यायाधीकरण (एनसीएलटी) इलाहाबाद बेन्चले जेपी हेल्थकेयरलाई कर्पोरेट दिवालियापन र रिजोलुसन प्रक्रियाका लागि जेसी फ्लावर्स एसेट रिकन्स्ट्रक्सन कम्पनीले दायर गरेको याचिका मौखिक आदेशमा स्वीकार गरेको छ। यस आदेशको लिखित प्रतिलिपि भने आएको छैन।
वित्तीय संकट
केयर रेटिङ्सले गरेको खुलासा अनुसार कम्पनीको विभिन्न बैंकमा १० अर्ब रुपैयाँ ऋण छ। यद्यपि, यो जेपी समूहको लागि पहिलो पटकको घटना भने होइन। राष्ट्रिय कम्पनी कानुन न्यायाधीकरणले ऋण संकटमा फसेका जयप्रकाश एसोसिएट्स लिमिटेडलाई खारेजी प्रक्रियामा जान स्वीकृति दिएको छ।
जेपी ग्रुपको स्थापना र उत्थान
अहिले कठिन अवस्थामा पुगेको जयप्रकाश समूहको जग २ सय १८ रुपैयाँ तलब लिने साधारण इन्जिनियर जयप्रकाश गौरले राखेका हुन्। सन् १९३१ मा यूपीको बुलन्दसहरमा जन्मेका जयप्रकाश गौर मध्यम वर्गका थिए। उनका बुबाले केही पैसा जोहो गरेर उनलाई रुडकीको सिभिल इन्जिनियरिङ कलेजमा भर्ना गराए।
पढाइ सकेर उनले बेतवा नदीमा निर्माण भइरहेको बाँध आयोजनामा २ सय १८ रुपैयाँ तलब पाउने जागिर पाए। ठेकेदारले मासिक ५ हजार रुपैयाँ पारिश्रमिक लिइरहेको देखेपछि उनले जागिर छाडेर आफ्नै काम सुरु गर्ने निर्णय गरे। सन् १९५८ मा उनले आफ्नो व्यापार सुरु गरे।
द्रुत विकास र सफलता
केही वर्षको संघर्षपछि जयप्रकाश गौरको कम्पनीले देशको पहिलो एक्सेस कन्ट्रोल एक्सप्रेसवे निर्माण गर्ने ठेक्का पायो। कम्पनीले एक्सप्रेसवे, राजमार्ग र फर्मुला वान रेसिङ ट्र्याकजस्ता परियोजनाहरू निर्माण गर्यो। ग्रेटर नोएडा-आगरा एक्सप्रेसवे वा यमुना एक्सप्रेसवे जस्ता परियोजनाहरूमा जेपीको महत्वपूर्ण योगदान रहेको छ।
कम्पनीले घरजग्गा क्षेत्रमा पनि धेरै नाम कमाएको छ। दिल्ली-एनसीआर क्षेत्रमा ३२ हजारभन्दा बढी फ्ल्याटहरू निर्माण गरेको छ। २ सय १८ रुपैयाँ तलब पाउने साधारण इन्जिनियरले करोडौंको कारोबार भएको कम्पनी स्थापना गरे।
विविधीकरण र बृद्धि
सन् १९८१ मा जेपी ग्रुपले होटल र हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेर पहिलो होटल व्यवसाय सुरु गर्यो। १९८७ मा जयप्रकाश एसोसिएट लिमिटेड स्टक एक्सचेन्जमा सूचीकृत भयो। कम्पनीले १९९२ मा जलविद्युत क्षेत्रमा प्रवेश गरेको थियो। १९८६ मा जेपी सिमेन्ट सञ्चालनमा आएको थियो।
जेपी इन्स्टिच्युट अफ इन्फर्मेसन एन्ड टेक्नोलोजीको आधार २००१ मा राखिएको थियो। २००८ मा जेपी इन्फ्रास्ट्रक्चर कर्पोरेसन अस्तित्वमा आएको थियो। २०११ मा जेपीले घरजग्गा क्षेत्रमा प्रवेश गरेको थियो भने २०१४ मा जेपीले मल्टि स्पेसलिटी अस्पतालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेको थियो।
ऋणको बोझ
देशमा मात्रै नभएर विदेशमा पनि कम्पनीको काम विस्तार हुन थाल्यो। १९७९ मा जेपी ग्रुपले इराकमा २ अर्ब ५० करोड रुपैयाँको काम पाएको थियो। २०१० मा जयप्रकाश गौरको सम्पत्ति बढ्दै जाँदा फोर्ब्स पत्रिकाको भारतीय अर्बपतिको सूचीमा ४८औं स्थानमा पुगेका थिए।
डेढ अर्ब डलर सम्पत्ति भएका जयप्रकाश गौरको सम्पत्ति बढ्दै गयो तर, कम्पनीको कारोबार बढेसँगै कम्पनीमाथि ऋणको बोझ पनि बढ्दै गयो। कर्जा र ब्याजको बोझले कम्पनी चुक्न थाल्यो। ऋण तिर्नका लागि कम्पनीहरू एकपछि अर्को डुब्दै गए। पछिल्लो समय जेपी इन्फ्राको कारोबार सुरक्षा समूहले किनेको थियो।
ऋण तिर्नका लागि कम्पनीले एकपछि अर्को गर्दै सिमेन्ट व्यवसाय बेच्नुपरेको थियो। ऋण कम्पनीको लागि विनाशको कारण बन्यो। यसरी, जेपी ग्रुपको उत्थान र पतनले तीव्र विस्तार र ऋणको उच्च निर्भरता कसरी सफल व्यापारिक साम्राज्यको पतनको कारण बन्न सक्छ भन्ने स्पष्ट गर्दछ।