नासा सेक्युरिटिजले ‘नासा एक्स’ प्रणाली ल्यायो, शेयर कारोबारमा आधुनिकता
Author
NEPSE trading

नेपाली शेयर बजारमा डिजिटल कारोबारलाई अझ सशक्त बनाउन नासा सेक्युरिटिजले नयाँ प्रविधियुक्त कारोबार प्रणाली ‘नासा एक्स’ सार्वजनिक गरेको छ। ब्रोकर नम्बर ५८ अन्तर्गत सञ्चालनमा रहेको नासा सेक्युरिटिजले आइतबार राजधानीको दरबारमार्गस्थित आफ्नो केन्द्रीय कार्यालयबाट यस प्रणालीको औपचारिक सुरुवात गरेको हो।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले उक्त कारोबार प्रणालीको उद्घाटन गरेका थिए। कार्यक्रमको दौरान श्रेष्ठले आधुनिक प्रविधिको प्रयोगमार्फत लगानीकर्तालाई थप सहज र भरपर्दो सेवा दिनु बजारको आवश्यकता भएको उल्लेख गरे।
नयाँ प्रणालीमार्फत लगानीकर्ताले अब कोल्याट्रल (धितो) तत्काल राख्न वा झिक्न सक्ने सुविधा पाउनेछन्। कम्पनीका प्रवन्ध सञ्चालक मदन पौडेलका अनुसार, ‘नासा एक्स’ प्रयोग गर्नेमध्ये चार लाखभन्दा बढी लगानीकर्ताले रियल टाइममा बजार अपडेट, कारोबार स्थिति, र ट्रान्जेक्सन जानकारी सजिलैसँग प्राप्त गर्न सक्नेछन्।
नासा एक्समा प्रयोगकर्तामैत्री इन्टरफेसमार्फत ‘इन-चार्ट अर्डरिङ’ सुविधा उपलब्ध गराइएको छ। यसको अर्थ लगानीकर्ताले चार्टमै विश्लेषण गरी त्यहींबाट सिधै सेयर खरिद/बिक्री आदेश प्रविष्ट गर्न सक्नेछन्। यसले पहिलेको झन्झटिलो प्रक्रिया—अलग्गै टीएमएसमा अर्डर हाल्नुपर्ने—बाट छुट दिनेछ।
यो प्रणालीमा रियल टाइम इन्फर्मेसन ड्यासबोर्ड, एकल साइन–इन प्रणाली, ग्राहकले आफैं रकम झिक्न सक्ने व्यवस्था, र च्याटबोटमार्फत समस्या समाधान जस्ता सुविधा उपलब्ध छन्। साथै, वेबसाइटमार्फत ‘ट्रेडिङ स्कूल’ नामक निःशुल्क प्लेटफर्म पनि सञ्चालनमा ल्याइएको छ, जसले नयाँ र अनुभवी दुवै लगानीकर्तालाई वित्तीय साक्षरता बढाउन सहयोग पुर्याउनेछ।
कम्पनीले दाबी गरेको छ कि ‘नासा एक्स’ नेपालमा पहिलोपटक चार्ट बेस्ड ट्रेडिङ प्लेटफर्मको सुरुवात हो, जुन अन्तर्राष्ट्रिय स्तरका कारोबार अभ्याससँग मेल खाने प्रविधि हो।
लगानीकर्ताको हितमा केन्द्रित यस प्रणालीले अबको दिनमा डिजिटल कारोबारलाई थप पारदर्शी, छरितो र प्रयोगमैत्री बनाउने अपेक्षा गरिएको छ।