·

नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको वार्षिक साधारण सभा सम्पन्न, प्रतिवेदन र कार्ययोजना सर्वसम्मत पारित

Author

NEPSE TRADING

नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको वार्षिक साधारण सभा सम्पन्न, प्रतिवेदन र कार्ययोजना सर्वसम्मत पारित

नेशनल निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल (नेसनल प्याब्सन) काठमाडौँ जिल्ला समितिको वार्षिक साधारण सभा बुधबार जोसेफ हाई स्कुलको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख आतिथ्यता नेसनल प्याब्सन केन्द्रीय समितिका निवर्तमान अध्यक्ष पाण्डव हमालले गर्नुभएको थियो भने केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।

यस कार्यक्रममा केन्द्रीय सचिव बिक्रम ढुकुछु, सचिव तेन्जिङ भुटिया, केन्द्रीय सदस्य विनय श्रेष्ठ र राजेश्वर तिवारी, बागमती प्रदेश अध्यक्ष नारायणकुमार कार्की, नेसनल प्याब्सन भक्तपुर अध्यक्ष पुण्यराम कवान, बुढानिलकण्ठ नगर समिति अध्यक्ष सुदीप काफ्ले, काठमाडौँ महानगर समिति अध्यक्ष नीलमणि भट्टराई लगायतका प्रमुख व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यसै गरी बागमती प्रदेश, काठमाडौँ जिल्ला र महानगर समितिका पदाधिकारीहरू, बुढानिलकण्ठ नगर समितिका प्रतिनिधिहरू, विभिन्न सदस्य विद्यालयका प्राचार्यहरू र उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं। ४ का प्रतिनिधिसभा उम्मेदवार जे.बी. दीपक अधिकारी पनि कार्यक्रममा सहभागी भएका थिए।

साधारण सभाले संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा वार्षिक कार्ययोजना सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ। यस अवसरमा नेसनल प्याब्सन बागमती प्रदेश समिति, काठमाडौँ जिल्ला समिति र काठमाडौँ महानगर समितिलाई पूर्णता दिइएको पनि जानकारी गराइएको छ।

कार्यक्रममा प्रमुख अतिथि पाण्डव हमाल, विशेष अतिथि सूर्यबहादुर अधिकारी र अन्य अतिथिहरूले संगठनको वर्तमान गतिविधि र आगामी दिशा सम्बन्धमा शुभकामना मन्तव्य व्यक्त गर्दै आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रमको संचालन नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिका सचिव प्रकाश अधिकारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष ईश्वर केसीले प्रस्तुत गर्नुभएको थियो।

सभाको अध्यक्षता नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिका अध्यक्ष होमबहादुर अधिकारी (मनोज) ले गरेका थिए।

Related News