·

नेपाल राष्ट्र बैंकको कार्यवाहक गभर्नरमा डा. नीलम ढुंगाना तिम्सिना नियुक्त

Author

Nepse Trading

नेपाल राष्ट्र बैंकको कार्यवाहक गभर्नरमा डा. नीलम ढुंगाना तिम्सिना नियुक्त

नेपाल राष्ट्र बैंक (एनआरबी) को कार्यवाहक गभर्नरमा वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनालाई नियुक्त गरिएको छ। वित्त मन्त्रालयले राष्ट्र बैंक ऐन, २०५८ को दफा २७ बमोजिम डा. ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको हो।

वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ गते (शुक्रबार) सम्पन्न भएसँगै गभर्नरको पद खाली भएको थियो। अधिकारीले पाँच वर्षे कार्यकाल पूरा गरी पदबाट बिदा लिएका हुन्।

राष्ट्र बैंक ऐन अनुसार, गभर्नरको पद खाली हुनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था भए पनि सरकारले हालसम्म स्थायी गभर्नरको नियुक्ति गर्न सकेको छैन। यद्यपि, नियुक्तिका लागि प्रक्रिया अगाडि बढाइएको छ।

गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ। समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य रहेका छन्।

समितिले तीन जनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गर्नेछ, जसमा कम्तीमा एक जना डेपुटी गभर्नर अनिवार्य हुनेछन्। मन्त्रिपरिषद्ले तीमध्ये एक जनालाई गभर्नरमा नियुक्त गर्नेछ।

गभर्नरको दौडमा कार्यवाहक गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, डा. प्रकाशकुमार श्रेष्ठ र बैंकिङ क्षेत्रका अनुभवसिद्ध व्यक्तित्व ज्ञानेन्द्र ढुंगाना रहेका छन्।

डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र दुवैलाई २०७७ साल फागुन २५ गते डेपुटी गभर्नरमा नियुक्त गरिएको थियो।

Related News