·

नेपाल राष्ट्र बैंकद्वारा निर्माण व्यवसायीलाई ब्याज भुक्तानीमा सहजीकरण

Author

NEPSE trading

नेपाल राष्ट्र बैंकद्वारा निर्माण व्यवसायीलाई ब्याज भुक्तानीमा सहजीकरण

नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीलाई बैंकको ब्याज भुक्तानीमा सहजता प्रदान गर्न नयाँ व्यवस्था लागू गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूलाई बुधबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले निर्माण व्यवसायसँग सम्बन्धित कर्जाको १० प्रतिशत ब्याज भुक्तानी गरेपछि ऋणको पुनर्तालिकीकरण र पुनरसंरचना गर्न सकिने सुविधा प्रदान गरेको हो।

हालै कार्यवाहक गभर्नर नियुक्त भएकी डा. निलम ढुंगाना तिम्सिनाको यो कदमले बैंक तथा वित्तीय क्षेत्र र निर्माण व्यवसायीलाई ठूलो राहत मिलेको छ। राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ, “सार्वजनिक निकायबाट स्रोत सुनिश्चित भई परियोजनाको निर्माण कार्य सम्पन्न भएको वा भइरहेको तर भुक्तानी प्राप्त हुन बाँकी रहेका निर्माण व्यवसायीलाई प्रवाह भएको कर्जाको हकमा ऋणीको अनुरोधमा नगदप्रवाह विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल गरेपछि कर्जाको पुनर्तालिकीकरण वा पुनरसंरचना गर्न सकिनेछ।”

यद्यपि, यो सुविधाका लागि केही शर्तहरू पनि तोकिएका छन्। पुनर्तालिकीकरण वा पुनरसंरचना २०८२ असार मसान्तभित्र पूरा गरिसक्नुपर्नेछ। साथै, यस्तो कर्जालाई २०८१ मंसिर मसान्तमा जुन वर्गमा वर्गीकरण गरिएको थियो, कम्तिमा सोही वर्गमा कायम राख्नुपर्नेछ। यस्तो कर्जामा उक्त अवधिको पेनाल ब्याज भने लिन नपाइने व्यवस्था गरिएको छ।

पुनर्तालिकीकरण वा पुनरसंरचना गरिएका कर्जामा बैंकहरूले ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ। तर, यसअघि गरिएको कर्जा नोक्सानी व्यवस्थालाई ‘राइटब्याक’ गर्न भने पाइने छैन। साथै, निर्माण व्यवसायीले सम्बन्धित सार्वजनिक निकायबाट भुक्तानी प्राप्त गर्न बाँकी रहेको प्रमाणित कागजात बैंकहरूलाई उपलब्ध गराउनुपर्नेछ।

यो कदमले कोभिड-१९ पछिको आर्थिक संकट र ढिलाइ भएको सरकारी भुक्तानीका कारण समस्यामा परेका निर्माण व्यवसायीलाई राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।

Related News