नेपालमा चालु आर्थिक वर्षको फागुनमा अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रियो
Author
NEPSE trading

चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनामा नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार फागुन महिनामा १ खर्ब ५१ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ, जुन एकै महिनामा भित्रिएको सबैभन्दा उच्च रकम हो।
राष्ट्र बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्ममा ९ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने फागुनसम्म आइपुग्दा यो रकम १० खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स ९.४ प्रतिशतले वृद्धि भएको छ।
यसअघि एकै महिनामा सबैभन्दा धेरै रेमिट्यान्स गएको असोज महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ भित्रिएको रेकर्ड थियो। तर, फागुनको यो तथ्यांकले उक्त कीर्तिमान तोडेको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा वार्षिक रूपमा अहिलेसम्मकै धेरै १४ खर्ब ४५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। चालु आर्थिक वर्षमा फागुनसम्मको यो वृद्धि हेर्दा यो वर्ष उक्त रेकर्ड तोडिने सम्भावना बलियो बनेको छ।
राष्ट्र बैंकको समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। यो वर्ष ३ लाख १७ हजार जनाले श्रम स्वीकृति लिएका छन्, जुन गत वर्षको सोही अवधिको २ लाख १७ हजारको तुलनामा निकै उच्च हो।
रेमिट्यान्समा भएको यो वृद्धिलाई अर्थतन्त्रका लागि सकारात्मक संकेत मानिएको छ। यद्यपि, वैदेशिक रोजगारीमा जानेको संख्यामा भएको वृद्धिले मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने चुनौतीलाई पनि उजागर गरेको विज्ञहरू बताउँछन्।