·

शेयर बजार भनेको के हो ?

Author

NEPSE trading

शेयर बजार भनेको के हो ?

शेयर बजार भनेको धितोपत्रको कारोबार हुने प्राथमिक तथा दोस्रो बजार हो । यसलाई समष्टिगत रूपमा पूँजी बजार समेत भन्ने गरिन्छ । जहाँ विभिन्न तरिकाबाट पूँजीहरूलाई एकत्रित गर्ने तथा एकत्रित गरिएका पूँजीहरूलाई शेयरको रूपमा कारोबार गर्ने व्यवस्था मिलाइएको हुन्छ ।

शेयर बजारलाई अझ स्पष्टसँग व्यक्त गर्नुपर्दा धितोपत्रको दोस्रो बजार अर्थात् स्टक एक्सचेन्जको रूपमा समेत व्यक्त गर्ने गरिन्छ । तर यो दोस्रो बजारको रूपमा मात्रै सीमित नरहेर अझै व्यापक रूपमा रहेको हुन्छ । जस अन्तर्गत प्राथमिक शेयर निष्काशन तथा खरिद–बिक्री, सूचीकृत संस्थाहरूको विभिन्न प्रकारका धितोपत्र तथा वित्तीय औजारहरूको खरिद–बिक्री, सूचीकृत हुने क्रममा रहेका तथा विभिन्न कारणले सूचीकरणबाट बाहिरिएका कम्पनीहरूलाई ओटिसी बजार मार्फत कारोबार गरिने पूर्ण रूपको पारिस्थितिक प्रणाली रहेको हुन्छ ।

नेपालको शेयर बजारको हकमा हाल विभिन्न प्रकारका कारोबार गर्न योग्य धितोपत्रहरूको कारोबार हुने गरेको छ । शेयर बजार कुनै पनि देशको वित्तीय प्रणालीको एक महत्वपूर्ण अंग हो जहाँ कम्पनीहरूले आफ्नो शेयर तथा अन्य वित्तीय औजारहरूको निष्काशनबाट आफ्नो कम्पनीको लागि आवश्यक रहेको वित्तीय स्रोत जुटाउने गर्दछन् र सूचीकृत हुने गर्दछन् भने त्यस्ता शेयर तथा वित्तीय औजारहरूमा लगानी गर्ने लगानीकर्ता (व्यक्ति र संस्था) हरूले सूचीकृत कम्पनीको शेयर तथा सूचीकृत धितोपत्रहरूको किनबेच गर्छन् । यसले व्यक्ति र संस्थालाई लगानी गर्न, सम्पत्ति निर्माण गर्न, व्यवसाय तथा अर्थतन्त्रको विकासमा सहभागी हुने अवसर प्रदान गर्छ । कम्पनीहरूलाई सार्वजनिक रूपमा शेयर जारी गरेर पूँजी जुटाउन र लगानीकर्तालाई सकेसम्म उच्च प्रतिफल प्राप्त हुने गरी धितोपत्रमा लगानी गर्न यसले सहयोग गर्छ ।

धितोपत्र ऐन २०६३ ले शेयर बजारलाई शेयर वा स्टकमा मात्रै सीमित नराखी धितोपत्र बजारको रूपमा परिभाषित गरेको छ । जहाँ विभिन्न प्रकारका धितोपत्रहरूको कारोबार हुने गर्दछ । धितोपत्र ऐन, २०६३ अनुसार ‘धितोपत्र बजार’ भन्नाले धितोपत्र खरिदकर्ता तथा बिक्रेतालाई एकै ठाउँमा ल्याई निरन्तर रूपमा धितोपत्रको खरिद, बिक्री वा विनिमय कार्य सम्पन्न गर्ने बजार, स्थान वा सुविधा सम्झनुपर्छ ।

कुनै पनि देशमा धितोपत्र बजारको अनिवार्य आवश्यकता रहेको छ । धितोपत्र बजारको स्थापना र विकास विना पूँजी परिचालन हुन तथा उद्यमशीलताको विकास हुन असम्भवप्रायः रहेको देखिन्छ । देशको आर्थिक विकासको लागि आवश्यक पूँजी परिचालन गर्न शेयर बजारको विकास हुनुपर्दछ । यद्यपि शेयर बजारमा जोखिम पनि निहित हुन्छ । यसमा लगानी गर्ने जो–कोहीले निहित जोखिमको गहन अध्ययन र अनुसन्धान गर्नुपर्छ साथै आफ्नो लगानी उद्देश्य र जोखिम वहन क्षमतालाई पनि विचार गर्नुपर्छ ।

पछिल्ला केही वर्षहरूमा शेयर बजारप्रतिको चासो बढेको छ । प्राथमिक बजारबाट आईपिओ भर्ने र शेयर बजारमा कारोबार गर्ने नयाँ लगानीकर्ता हरेक दिन थपिने गरेका छन् । सरकार, संसद्, मिडिया लगायतका सार्वजनिक स्थलहरूमा समेत यसको चर्चा हुने गरेको छ । युवा पुस्तामा शेयर कारोबारको चस्का लागेको छ ।

अहिलेको वर्तमान समयमा धेरैका लागि शेयरमा लगानी आर्थिक उपार्जन गर्ने र दीर्घकालीन सम्पत्ति निर्माण गर्ने बाटो भएको छ । यस बजारमा हाल व्यक्तिगत मात्रै नभई संस्थागत लगानीकर्ता पनि बढेका छन् । शेयर बजारको दायरा तथा क्षेत्र फराकिलो हुँदै गएको छ । यति हुँदाहँुदै पनि लगानीकर्तामा शेयर बजार सम्बन्धी आधारभूत बुझाइ तथा ज्ञानको कमी छ ।

शेयर बजारले सर्वसाधारणमा छरिएर रहेको पूँजी जुटाएर व्यावसायिक कम्पनीको विकास तथा विस्तारमा सहयोग गरी अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले लगानीकर्तालाई लगानी र सम्पत्ति निर्माण गर्ने अवसर प्रदान गर्छ । लगानीकर्ताले लगानी गर्दा कम्पनीको आर्थिक तथा व्यवस्थापकीय पक्षको अनुसन्धान गर्ने बानी बसाल्नु जरूरी छ ।

Related News