·

दोस्रो त्रैमासको अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले सकारात्मक

Author

NEPSE TRADING

दोस्रो त्रैमासको अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले सकारात्मक

दोस्रो त्रैमासको अन्तिम कारोबार दिन पुस ३० गते, बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर सकारात्मक रूपमा बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार पनि सामान्य सुधार देखिएको बजारले बुधबार पनि निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक १.५२ अंकले बढेर २६४१.४३ विन्दुमा पुगेको छ। यद्यपि फ्लोट इण्डेक्स स्थिर रहँदा सेन्सेटिभ इण्डेक्स ०.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंकले घटेका छन्।

कारोबार रकमका हिसाबले भने बजारमा केही संकुचन देखिएको छ। मंगलबार ६ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३२० स्टकको ७२ हजार ६७१ पटकको कारोबारमार्फत ६ अर्ब २० करोड ९४ लाख रुपैयाँ बराबरको १ करोड २५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशतले बढ्दा थ्रिस्टार हाइड्रोपावर र एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य पनि उल्लेख्य रूपमा वृद्धि भएको छ। कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहँदा १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ, जसमा वित्त उपसमूह २.५५ प्रतिशतले सर्वाधिक बढेको हो।

Related News