निफ्राद्वारा हरित ऊर्जा ऋणपत्रको निष्कासन सुरु, पाँच अर्ब बराबरको लगानी अवसर
Author
NEPSE trading

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ‘निफ्रा हरित ऊर्जा ऋणपत्र २०८८–८९’ नामक नयाँ ऋणपत्र निष्कासन आज जेठ १८ गतेदेखि औपचारिक रूपमा सुरु गरेको छ। बैंकले यो ऋणपत्रमार्फत कुल ५ अर्ब रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।
बैंकले प्रति ऋणपत्र १,००० रुपैयाँ अंकित दरमा जम्मा ५० लाख कित्ता जारी गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डबाट वैशाख ३० गते स्वीकृति प्राप्त भइसकेको यस योजनाअन्तर्गत, ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरमा लगानीकर्तालाई बिक्री गरिनेछ।
बाँकी २० लाख कित्तामध्ये १ लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएको छ भने बाँकी १९ लाख कित्ता सर्वसाधारणलाई खुला रूपमा निष्कासन गरिने बैंकले जानकारी दिएको छ।
सात वर्षे अवधिको यस ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको छ। लगानीकर्ताले न्यूनतम २५ कित्ता (२५ हजार रुपैयाँ) र अधिकतम १० लाख कित्ता (१० करोड रुपैयाँ) सम्म आवेदन दिन सक्नेछन्।
ऋणपत्रमा लगानी गर्न इच्छुकहरूका लागि आवेदन दिने अन्तिम म्याद जेठ २१ गतेसम्म तय गरिएको छ। यद्यपि, यदि सो अवधिभित्र पर्याप्त आवेदन प्राप्त नभएमा म्याद असार १ गतेसम्म लम्ब्याइने बैंकले जनाएको छ।
यस ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको भूमिकामा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।
बैंकले हरित ऊर्जा र पूर्वाधार विकासमा लगानी प्रवाह बढाउने उद्देश्यले यो ऋणपत्र ल्याएको बताएको छ, जुन दीर्घकालीन वित्तीय साधनका रूपमा अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।