बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ खिच्ने
Author
NEPSE trading

बजारमा देखिएको तरलताको चाप घटाउन नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ खिच्ने भएको छ। दुई खर्ब १२ अर्ब रुपैयाँ परिपक्व नहुँदै राष्ट्र बैंकले ७० अर्ब संकलन गर्न निक्षेप संकलन उपकरणमार्फत बोलकबोलको प्रक्रिया सुरु गर्न लागेको हो।
राष्ट्र बैंकले २१ दिन अवधिको लागि यो निक्षेप संकलन गरिन लागेको जनाएको छ। आज दिउँसो ३ बजेसम्म बोलकबोलको समय तोकिएको छ। न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडको भागमा विभाजन गर्दा बाँकी रकम निःशेष गरिने गरी आवेदन दिन सकिनेछ। निक्षेपको सावाँ तथा ब्याज असार ८ गते भुक्तानी गरिनेछ।
बोलकबोल प्रतिस्पर्धात्मक हुने भएकाले ब्याजदर पनि प्रतिस्पर्धामार्फत निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्था वर्ग ‘क’, ‘ख’, र ‘ग’ ले मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन्। बोलकबोल गर्ने संस्थाहरूले आफू जम्मा गर्न चाहेको रकम र ब्याजदर दशमलव पछिका चार अंकसम्म स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ।
सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइनेछ र मागअनुसार रकम बाँडफाँड गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ। समान ब्याजदर भएको अवस्थामा प्रो–रेट आधारमा रकम बाँडफाँट गरिनेछ। राष्ट्र बैंकले सम्पूर्ण वा आंशिक बोलपत्र अस्वीकार गर्ने अधिकार सुरक्षित राखेको छ।
बोलपत्र स्वीकृत भएपछिको रकम सम्बन्धित काउण्टर पार्टीको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरिनेछ। यस्ता निक्षेपहरू अलग्गै खातामा राखिनेछन्। निक्षेप दिन तय गरिएको मितिमा काउन्टर पार्टीको खातामा रकम पर्याप्त नभएमा ती संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलहरूमा सहभागी हुन नपाउने प्रावधान पनि राष्ट्र बैंकले राखेको छ।
संकलित निक्षेप र ब्याज असार ८ गते सम्बन्धित बैंकको राष्ट्र बैंक खातामा फिर्ता गरिनेछ। यस कदमबाट बजारमा मौद्रिक सन्तुलन कायम गर्न राष्ट्र बैंकले सक्रिय भूमिका निर्वाह गर्ने संकेत देखिएको छ।