·

विद्युत उत्पादन पुनः सुरु भएसँगै पाँचथर पावर नाफामा, दोस्रो त्रैमासमा २४ करोड आम्दानी

Author

NEPSE TRADING

विद्युत उत्पादन पुनः सुरु भएसँगै पाँचथर पावर नाफामा, दोस्रो त्रैमासमा २४ करोड आम्दानी

पाँचथर पावर कम्पनी लिमिटेड (PPL) ले  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले पुस मसान्तसम्म विद्युत बिक्रीमार्फत २३ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा २०८० असार र २०८१ असोजमा आएको बाढीका कारण आयोजना तथा पावर हाउसमा क्षति पुग्दा विद्युत उत्पादन ठप्प भएको थियो र दोस्रो त्रैमाससम्म कुनै आम्दानी हुन सकेको थिएन। मर्मत कार्य सम्पन्न भई २०८१ चैत १६ गतेदेखि पुनः उत्पादन सुरु भएसँगै कम्पनीको आम्दानी सुधारिएको हो। विद्युत बिक्री सुरु भएसँगै कम्पनी नोक्सानीबाट नाफामा फर्किएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ करोड ७६ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिमा ९ करोड ४ लाख रुपैयाँ नाफामा पुगेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीको कुल नाफा २२ करोड ७६ लाख रुपैयाँ र वित्तीय खर्च ८ करोड ३ लाख रुपैयाँ रहेको छ। सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८० पैसा, प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ २० पैसा र मूल्य–आम्दानी अनुपात १८.४८ गुणा रहेको छ। ९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने ७६ लाख ६४ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

Related News